मधेशको राजनीतिलाई तताउँदै उपेन्द्र-Sutra News

मधेशको राजनीतिलाई तताउँदै उपेन्द्र

आन्तरिकरुपमा छलफलसँगै बाह्य छलफलमा पनि जुटे उपेन्द्र, बाक्लियो भारत भ्रमण

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । लामो समयपछि मधेसको राजनीतिमा केही फरक हलचलका संकेतहरु देखिन थालेका छन् । एक अर्काका कटु आलोचक र विरोधी शक्तिका रूपमा देखिएका मधेस केन्द्रित दलहरू सौहार्दतासहित छलफलमा जुट्न थालेका छन् । दलहरूबिच अहिले मोर्चा बन्दी र पार्टी एकताको एजेन्डा छलफल चल्न थालेको छ ।



श्रृंखलाबद्ध देखिएका यी नयाँ घटनाक्रमका बिच मधेसको राजनीति कता जाँदै छ ? आमलाई कौतूहल बनाएको छ ।

मधेसको राजनीतिमा देखिन थालेको यो फेरबदलको नेतृत्व भने मधेस आन्दोलनका मुख्य नेतृत्वकर्ता उपेन्द्र यादवको पहलमा भइरहेको छ । यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्णय नै गरेर मधेस केन्द्रित शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभियान चलाएको छ ।

जसपाले पार्टी बैठकबाट औपचारिक निर्णय नै गरेर मधेस केन्द्रित दलहरूबिच संवाद चलाउन अन्तर पार्टी समन्वय समिति बनाएको थियो । जसको नेतृत्व उपाध्यक्ष राजकिशोर यादवलाई दिइएको छ । सतहमा देखिएका छलफल र मोर्चा बन्दीको अभियान यही समितिमार्फत भइरहेको देखिन्छ ।

जसपा नेपालबाट राजकिशोरसहित नेताहरू रामकुमार शर्मा, ईश्वरदयाल मिश्र, मोहम्मद साबिर हुसेनलगायतले अन्य दलहरूसँगको छलफललाई तीव्रता दिएका छन् । यता दलहरूबिच छलफल चल्दै गर्दा उपेन्द्र यादव भने एकपछि अर्को गरी भारत भ्रमणमा निस्किएका छन् ।

तीन साताअघि समाजवादी अभियानको कार्यक्रमका नाममा उपेन्द्र दिल्ली पुगेका थिए । उनले कांग्रेस आईका अध्यक्ष मल्लिकार्जुन खड्गेसँग भेटवार्ता गरेका थिए । उक्त भ्रमणका बेला उपेन्द्रले अन्य कांग्रेस आईका नेताहरूलाई पनि भेटेका थिए ।

तीन साताअघि मात्रै दिल्ली घुमेका उपेन्द्र फेरि भारत भ्रमणमा निस्किएका छन् । दिल्लीपछि यादव छिमेकी प्रदेशका नेताहरूसँगको भेटवार्तामा जुटेका छन् ।
आइतबार यादवले उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवलाई भेटेका छन् । भारतीय समाजवादी पार्टीका अध्यक्षसमेत रहेका अखिलेश यादवलाई भेट्न उपेन्द्र लखनउ पुगेका थिए ।

जसपाका महासचिव रामकुमार शर्माका अनुसार केही कार्यक्रमको सिलसिलामा उपेन्द्र उत्तर प्रदेश पुगेका हुन् । अखिलेश यादवलाई भेटेका उपेन्द्रले अन्यलाई पनि भेट्ने कार्यक्रम रहेको उनले बताए । उपेन्द्रको भ्रमण छिमेक सम्बन्धलाई निरन्तरता दिने उद्देश्यबाट प्रेरित रहेको शर्माको भनाई छ ।

“राजनीतिक शक्ति भएपछि अन्य देशका राजनीतिक शक्तिसँग पनि सम्बन्ध हुने कुरा स्वाभाविक हुन्छ, अहिलेको उहाँको भ्रमण पनि सोही सिलसिलामा भएको हो, हामी भारतका सबै शक्तिसँग समदुरीका रूपमा सम्बन्ध कायम गराउने प्रर्यत्नमा छौँ, अध्यक्ष सोही सिलसिलामा भारत पुग्नुभएको हो”, शर्माले भनेका छन् ।

यद्यपि, मधेसमा शक्ति आर्जनको खेललाई तीव्रता दिएका उपेन्द्रको भारत भ्रमणलाई सामान्य अर्थमा मात्रै लिन सकिन्न । मधेसका शक्तिहरूलाई एकाकार बनाउन खोजेका यादवले छिमेकी देशका शक्तिहरूसँग बढाइरहेको भेटवार्ता मधेस राजनीतिको अर्को पाटोका रूपमा लिनुपर्ने कतिपयको धारणा छ ।

हुन पनि मधेसको राजनीतिमा भारतीय चासो तीव्र प्रकट हुने गरेको छ । पछिल्लो समय भारतको संस्थापन पक्ष खास नखुलेको देखिए पनि छेउछाउबाट प्रभावित बनाउने प्रयास भने भइरहेको पाइन्छ ।

मधेस राजनीतिमा उपेन्द्रको सक्रियता र भारतीय नेताहरूसँगको तीव्र रूपमा भइरहेको भेटवार्तालाई सहानुभूति जुटाउने प्रयासको रूपमा लिन सकिन्छ । यसअघि पनि मधेसका शक्तिहरू यसै गरी भारतका शक्तिहरूसँग भेटवार्तामा देखिने गरेका थिए ।

सम्बन्धित समाचार

के पाक्दै छ मधेसको राजनीतिमा ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट