काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाबन्दीको प्रयास थालिरहँदा जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि बेग्लै मोर्चा बनाउने तयारी थालेका छन् । जसका लागि राउतले दुई सदस्यीय कार्यदल गठन गरेका छन् ।
जनमत पार्टीले जारी गरेको विज्ञप्तिअनुसार मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीको पहल गर्न केन्द्रीय उपाध्यक्ष अब्दुल खान र प्रवक्ता डा शरदसिंह यादव नेतृत्वमा कार्यदल गठन गरिएको छ । मधेश केन्द्रित दलहरुबीच संवाद र सहकार्यको पहल गर्न उक्त कार्यदल गठन गरिएको सो पार्टीले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
पार्टीको केन्द्रिय सचिवालय समितिको निर्णयानुसार मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि कार्यदलको जिम्मेवारी तोकिएको हो । पछिल्लो समय संविधान संशोधनको विषयवस्तु उठिरहेको सन्दर्भमा मधेश केन्द्रित दलहरुको साझा धारणा बनाउने क्रममा सहमतिको पहलका लागि कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ ।
यसअघि आइतबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेहरुसँग पार्टी एकीकरणका लागि समिति गठन गरेको थियो ।
विशेषगरी जसपा नेपालले मोर्चाबन्दीको प्रयास थाल्दै गर्दा मधेशको राजनीति विभाजित छ । जसपाको पक्षमा नखुलेका राउतले बेग्लै मोर्चा बनाउने उद्देश्यले कार्यदल गठन गरेका हुन् ।