काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियानबिच एकताको चर्चा चलेको महिनौ भइसक्यो । नेकपा (एमाले)मा प्रवेश गर्ने अवस्था नभएपछि गौतमले एकीकृत समाजवादीसँग एकताको छलफल बढाएका थिए ।
गौतमले केही महिनाअघि एकीकृत समाजवादीसँग एकताको वार्ता गर्न नेता डी.बी. कार्कीको नेतृत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेका थिए । जसलाई एकीकृत समाजवादीले पनि स्वागत गर्यो । वामदेवलाई तेस्रो वरीयतासहित पार्टीमा भित्र्याउने निर्णय एकीकृत समाजवादीले स्थायी समिति बैठक बसाएरै गरेको थियो ।
स्थायी समिति बैठकको निर्णयअनुसार नै वामदेवसँग स्वयम् पार्टी अध्यक्ष माधवकुमार नेपाल छलफलमा जुटे । योबिचमा शीर्ष तहमै गौतमका माग र अडानमाथि सहमति जुटेको छ ।
एकीकृत समाजवादीका स्थायी समिति सदस्य साध्य बहादुर भण्डारीका अनुसार गौतमकै मागअनुसार सहमति भएको छ । उनले बताएअनुसार गौतमकै मागअनुसार वरीयता दिने सहमति भएको छ भने जिम्मेवारी पनि मागअनुसार नै दिने सहमति भएको छ । साथै, सैद्धान्तिक सन्दर्भमा नमिलेका विषयमा छलफल गरेर जाने सहमति भएको छ ।
‘उहाँकै मागअनुसार करिब सहमति भइसकेको अवस्था छ, अब स्वागत गर्ने विषय मात्रै बाँकी छ”, सहमतिबारे भण्डारीले भनेका छन्, “अहिलेको सहमतिलाई पालना गरेमा केही दिनभित्रै उहाँसहितको अभियान एकीकृत समाजवादीमा समेटिन्छ ।”
यद्यपि, यसरी एकीकृत समाजवादीसँग निर्णायक छलफल टुङ्ग्याएका गौतम फेरि एमालेसँग पनि छलफल जुटेका छन् । उनले केही निकटस्थमार्फत एमालेसँग एकता गर्न छलफल बढाएका हुन् ।
एमालेसँग छलफल अघि बढेसँगै गौतमले एससँगको एकता प्रक्रियालाई केही समयका लागि लम्ब्याएका छन् । उनले एमालेको केन्द्रीय समिति बैठकको निर्णयका आधारमा निर्णय लिने भन्दै एससँगको छलफललाई तत्कालका लागि रोकेको बुझिएको छ ।
नेता डीबी कार्कीका अनुसार एससँगको एकताको विषय पौष २७ गते बस्ने सचिवालयको बैठकपछि मात्रै टुंगो लाग्नेछ । उनका अनुसार सबै नेताको कुरा सुनेर निर्णय लिने तयारी गरिएको छ ।
‘हाम्रो एजेन्डा, कम्युनिस्ट आन्दोलनलाई नै एकीकृत गरेर जानुपर्छ भन्ने हो, अहिले एकीकृत समाजवादीसँग छलफल भएको छ, सँगसँगै जाऔँ भन्ने कुरा भएको छ”, उनले भनेका छन्, “पौष २७ मा बैठक बोलाएका छौँ, जसबाट के गर्ने निर्णय लिन्छौँ ।”
एमालेको जारी केन्द्रीय समिति बैठकबाट के–कस्तो निर्णय आउँछ भन्ने पर्खाइमा गौतम देखिन्छन् । उनले आफूहरूलाई पनि समेट्ने निर्णय आएमा एमालेतर्फ नै फर्किने मनसाय बनाएको निकटस्थहरु बताउँछन् ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनपछि गौतम एमालेतर्फ नै फर्किएका थिए । तर, मागअनुसारको भूमिका नपाएपछि गौतम २०७८ भदौमा एमालेबाट औपचारिकरुपमा बाहिरिएका थिए ।
त्यसयता उनी अन्य दलतर्फ नगई एमालेसँग नै छलफलमा रहे ।
गौतमले २०८० असार ३ मा एमालेमा फर्किने वातावरण मिलाइदिन भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै आग्रह गरेका थिए । यद्यपि, ओलीले नसुनेपछि उनी फेरि यता न उताका भए । एमालेले बेवास्ता गरेपछि गौतमले एकीकृत समाजवादीसँग विकल्पविहीन अवस्थामा छलफल बढाएका हुन् ।