कारोबार र परिसूचकमा उत्साहपूर्ण बृद्धि, के नेप्सेले लय समातेको हो ?-Sutra News

कारोबार र परिसूचकमा उत्साहपूर्ण बृद्धि, के नेप्सेले लय समातेको हो ?

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । लामो समयपछि सेयर बजारमा उत्साह देखिएको छ । केही दिनदेखि लगातार झिनो अंकले बढिरहेको सेयर बजार परिसूचक (नेप्से) साताको दोस्रो कारोबार दिन (सोमबार) उत्साहपूर्णरुपमा बृद्धि भएको हो ।



सोमबार ४९.१२ अंकले बढ्दै नेप्से २६४०.६८ को बिन्दुमा उक्लिएको छ । सोमबार समग्रमा नेप्से १.८९ प्रतिशतले बढ्यो ।

परिसूचकसँगै नेप्सेमा कारोबार रकममा पनि उच्च बृद्धि भएको छ । १ करोड ५४ लाख ६१ हजार कित्ता सेयर किनबेच हुँदा सोमबार कारोबार रकम ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बराबरको भयो । जुन झण्डै एक महिनायताकै उच्च कारोबार हो ।

समग्रमा हरियाली देखिएको नेप्सेमा सबैभन्दा बढी जलविद्युत समूहको सूचक ३.५५ प्रतिशतले बढ्यो भने सबैभन्दा कम व्यापारको सूचक ०.४६ प्रतिशतले बढ्यो ।

सोमबार कारोबारमा आएका २४२ कम्पनीमध्ये २२६ को मूल्य बढ्दा १२ को मात्रै मूल्य घट्यो । ४ कम्पनीको भने मूल्य स्थिर रह्यो ।

सोमबारको कारोबारले लगानीकर्तालाई उत्साहित बनाएको छ । सूचकसँगै कारोबार रकममा भएको बृद्धिसँगै बजारले लय समात्न थालेको संकेत गरेको छ ।

यतिबेला अधिकांश कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बुक क्लोज गरिसकेका छन् । साथै, बुक क्लोज गरेका अधिकांशले कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेका छन् ।

लगानीकर्ताले पनि कम्पनीबाट पाउनुपर्ने लाभांश पाइसकेका कारण अब कुन कम्पनीले कति देला ? भन्ने प्रश्न सकिँदै गएको छ । जसमा लगानीकर्ता प्रष्ट हुँदै जाँदा बजारमा प्रभाव देखिन थालेको जानकारहरु बताउँछन् ।

यसअघिका वर्षहरुलाई हेर्दा, पुस महिनामा सेलिङ प्रेसर बढ्ने गरेको पाइन्छ । ब्याज र करको कारण लगानीकर्ताहरुले रकमको जोहो गर्न सेयर बेच्ने गरेका उदाहरण छन् । तर, माघ लागेसँगै भने त्यसको ठिक उल्टो हुने गरेको पाइन्छ ।

यद्यपि, यसपटक पुसको बिचमै बजारमा देखिएको रौनकताले लगानीकर्ता बलियो अवस्थामा भएको देखाएको छ । पछिल्ला दिनको ट्रेण्डलाई माघ महिनासँगै बजार थप उत्साहपूर्णरुपमा बढ्ने संकेत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट