उपेन्द्र पौडेलको अध्यक्षतामा सिबिफिनको नयाँ कार्यसमिति चयन-Sutra News

उपेन्द्र पौडेलको अध्यक्षतामा सिबिफिनको नयाँ कार्यसमिति चयन

सोमबार, २२ पौस २०८१

सोमबार, २२ पौस २०८१

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारण सभा शुक्रबार सफलतापूर्वक सम्पन्न भएको छ । “उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधारः दिगो बैंकिङ – उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार” भन्ने मूल नाराका साथ सभा सम्पन्न भएको हो ।



चुनावी साधारण सभाले नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन समेत गरेको छ । सिबिफिनको विधानानुसार वाणिज्य बैंकका तर्फबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १० जना, विकास बैंकका तर्फबाट वरिष्ठ उपाध्यक्ष, सचिव र २ सदस्यसहित ४ जना र फाइनान्स कम्पनीका तर्फबाट उपाध्यक्ष, सहकोषाध्यक्ष र एक सदस्यसहित ३ जना गरी १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।

नवनिर्वाचित पदाधिकारीहरूमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल अध्यक्ष, महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश उपाध्याय वरिष्ठ उपाध्यक्ष, रिलायन्स फाइनान्सका अध्यक्ष कुशप्रसाद मल्ली उपाध्यक्ष, हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ महासचिव, एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवाल कोषाध्यक्ष, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल सचिव, गोर्खाज फाइनान्सका अध्यक्ष गौरव बुढाथोकी सहकोषाध्यक्ष र कार्यकारी सदस्यहरूमा प्रभु बैकका अध्यक्ष लिलाप्रकाश सिटौला, ग्लोबल आईएमई बैंकका सञ्चालक राधेश पन्त, एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, नेपाल बैंक लिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारी, एभरेष्ट बैंकका अध्यक्ष डा बालगोपाल वैद्य, लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपाल, कुमारी बैंकका सञ्चालक राजाराम खड्का, लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणी भट्टराई र प्रोग्रेसिप फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जन निर्वाचित भएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री तथा प्रमुख अतिथि दामोदर भण्डारीले साधारण सभाको समुद्घाटन गरेका थिए । समुद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै मन्त्री दामोदर भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत्, वनपैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामीण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीहरुको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाहरूले विशेष भूमिका निर्वाह गर्नुपर्ने सन्देश व्यक्त गरे ।

उद्घाटन समारोहमा सिबिफिनका अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट