काठमाडौं । भारतीय चलचित्र ‘पुष्पा २’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्म बनेको छ । अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म प्रदर्शनको ३२ औं दिनमा १३५२ करोड भारतीय रुपैयाँको आकडा पार गर्दै घरेलु बक्सअफिसमा धेरै कमाउने फिल्म बनेको हो।
पिंकभिल्लाका अनुसार ७ वर्ष, ८ महिना र ३ दिनमा ‘पुष्पा २’ ले सर्वाधिक ग्रस कलेक्सन गर्ने ‘बाहुबली २’को कीर्तिमानलाई उछिनेको हो। सन् २०१७ मा रिलिज भएको ‘बाहुबली २’ ले भारतमा १३४७ करोड भारुको व्यापार गरेको थियो।
सुकुमारको लेखन र निर्देशन रहेको यस फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना मुख्य भूमिकामा छन्। साथै फरद फासिल, धनञ्जय, राव रमेश, सुनील, अजय घोषलगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
यी हुन् भारतभर धेरै कमाउने फिल्म
१. पुष्पा २- १३५२ करोड भारु (३२ दिन)
२. बाहुबली २– १३४७ करोड भारु
३. दंगल– ५११ करोड भारु
४. बाहुबली– ४८१ करोड भारु
५. पिके– ४५० करोड भारु