काठमाडौं । प्रहरीले नेकपा (एमाले)का सांसद एवम् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई पक्राउ गर्न अनुमति लिएको छ ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार जिल्ला अदालत मोरङबाट पक्राउ अनुमति लिइएको हो ।
पोखरेलले पीडितबाट एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । तर, नाम पनि ननिकालेको र रकम समेत फिर्ता नगरेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि अनुमति मागेको थियो । प्रहरीको अनुमतिअनुसार मोरङ अदालतले अनुमति दिएको हो ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि पोखरेलले स्वकीय सचिवलाई शुक्रबार जिम्मेवारीबाट हटाएका थिए ।