काठमाडौं । आइतबारबाट काठमाडौंको धुम्बाराहीमा सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी छ । बैठकको दोस्रो दिन सोमबार ८० जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सोमबार ८० जना सदस्यले धारणा राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार अध्यक्षको प्रतिवेदनमाथि धारणा राख्ने क्रममा सबैजसो सदस्यले प्रष्ट विचार र राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्ने बताएका छन् ।
‘अध्यक्षको प्रतिवेदनमाथि ८० जना कमरेडहरूले बोल्नुभयो । प्रष्ट विचार, स्पष्ट राजनीतिक दृष्टिकोणसहित अघि बढ्नुपर्छ भन्नेमा सबैले अपिल गरेका छन्,’ दोस्रो दिनको बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘जीवनशैली खुला पुस्तकको पानाजस्तो हुनुपर्छ, उच्च नैतीक चरित्र र सबैको विश्वास जित्ने खालको हुनुपर्छ भन्ने सबैको भनाइमा आएको छ ।’
त्यस्तै, अध्यक्ष प्रचण्डसहितका सबै नेता कार्यकर्ताहरू श्रम र उत्पादनमा जोडिनुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेको उनले बताए ।