ट्रम्पको घोषणासँगै अप्ठ्यारो परेका जस्टिन ट्रुडोले दिए राजीनामा-Sutra News

ट्रम्पको घोषणासँगै अप्ठ्यारो परेका जस्टिन ट्रुडोले दिए राजीनामा

मंगलबार, २३ पौस २०८१

मंगलबार, २३ पौस २०८१

काठमाडाैं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार प्रधानमन्त्री र लिबरल पार्टीको नेताकाे पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएपनि क्यानडाको अखबार ग्लोब एण्ड मेलका अनुसार क्यानडाका प्रधानमन्त्रीले नयाँ प्रधानमन्त्री नियुक्त नभएसम्म आफ्नो पदमा रहने बताएका छन् ।



देशमा सांसदहरुको बढ्दो विरोधका कारण ट्रुडोले राजीनामा दिनुपरेको थियो ।

‘म पार्टीको नेताबाट, प्रधानमन्त्रीको रूपमा राजीनामा दिन्छु र पार्टीले आफ्नो अर्को नेता चयन नगरेसम्म पदमा रहनेछु। मैले हिजो राती लिबरल पार्टीका अध्यक्षलाई त्यो प्रक्रिया सुरु गर्न भनेको छु।’, राजीनामा दिँदै ट्रुडोले भने ।

राजीनामाको घोषणा पछि, मिडियाले ट्रुडोलाई प्रश्नहरू तेर्स्याएका थिए । किन राजीनामा दिएकाे सन्दर्भमा उनले सरकार परिवर्तनकाे मानक परिवर्तन गर्न चाहेकाे बताए ।

जस्टिन ट्रुडोको लिबरल पार्टी लामो समयदेखि आलोचनामा परेको छ । मुद्रास्फीति र दैनिक खर्च घटाउन सरकार असफल भएको आरोप लाग्दै आएको छ ।

यसैबीच, अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेसँगै क्यानडामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यस विषयमा ट्रुडोलाई निकै अप्ठ्यारो पनि परेको थियो र उनी आफ्नै पार्टीका नेताहरूको आलोचनाको सिकार बनेका थिए ।

उनको सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेपछि स्थिति झनै बिग्रिएकाे थियाे ।

राजीनामा दिने क्रममा क्रिस्टिया फ्रिल्यान्डले अमेरिकाले क्यानडामा २५ प्रतिशत कर लगाएमा देशको अर्थतन्त्रको ढाड भाँचिने बताएकी थिइन् । जस्टिन ट्रुडोका सम्बन्धमा क्रिष्टिया फ्रिल्याण्डले प्रधानमन्त्री जस्टिन ट्रुडोले देशको आर्थिक अवस्था सुधार्नुको सट्टा देशले धान्न नसक्ने ‘महँगो राजनीति’ गरिरहेको बताइन् ।

यसपछि उनको अल्पमत सरकारलाई समर्थन गर्ने पार्टी एनडीपीले पनि जस्टिन ट्रुडोविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने धम्की दिएको छ । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट