काठमाडौं । लगातार बृद्धिका बिच साताको तेस्रो कारोबार दिन (मंगलबार) पनि सेयर बजार परिसूचक (नेप्से) बढेको छ । केही दिनदेखि नै लगातार उकालोमा रहेको नेप्से मंगलबार भने एकल अंकको बृद्धिमा सीमित बन्यो ।
मंगलबार ६.१६ अंकको बृद्धिसँगै नेप्से २६४६.८४ को बिन्दुमा उक्लिएको छ । यसअघि सोमबार नेप्से ४९.१२ अंकले बढेको थियो ।
मंगलबार बैंकिङ, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य समूहमा झिनो करेक्सन देखियो । फाइनान्स समूह २.६५ प्रतिशतले बढ्दा अन्य बृद्धि भएका समूहमा पनि सामान्य अंकको बृद्धि भयो ।
कारोबारमा आएका २४३ कम्पनीमध्ये १२६ को मूल्य बढ्दा १०७ को मूल्य घट्यो भने १० को मूल्य स्थिर रह्यो । आज ३ कम्पनीको मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि हुँदा २ को मूल्य नकारात्मक सर्किट लाग्यो ।
एकल अंकले बढ्दै गर्दा नेप्सेमा कारोबार रकम भने केहीले गिरावट आएको छ । सोमबारको तुलनामा झण्डै एक अर्बको घट्दै कारोबार रकम ५ अर्ब ३८ करोड ४६ लाख रुपैयाँमा सीमित भएको छ । यसअघि सोमबार ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँको कारोबार भएको थियो ।
मंगलबारको कारोबारले नेप्सेको उकालो यात्रा कायमै रहने संकेत गरेको छ । यद्यपि, केही लगानीकर्ताहरु अझै अन्योलतामा रहेको पनि देखाएको छ ।