काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय समिति बैठक सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएसँगै बैठक सकिएको हो ।
बैठकले पार्टी अध्यक्ष ओलीले पेस गरेको राजनीति प्रतिवेदन र महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनलाई हुबहु पारित गरेको छ ।
बैठकलाई समापन गर्दै अध्यक्ष ओलीले पार्टीको विधि विपरीत जाने जुनसुकै नेतालाई पनि नछाडिने चेतावनी दिएका छन् । विशेषगरी तीन नेतामाथिको कारबाही सन्दर्भमा उठेको विषयलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो चेतावनी दिएका हुन् । उनले तीन नेतामाथिको कारबाही ‘पिलो निचोरिएको’को रूपमा अर्थ्याएका छन् ।
“उनीहरूलाई कारबाही गर्न ढिलो भयो, पिलो निचोरिँदैमा वजन घट्दैन, उनीहरूमाथिको कारबाही पुनर्विचार हुँदैन”, ओलीको भनाई उद्धत गर्दै एक केन्द्रीय सदस्यले भने, “एमालेमा छाडातन्त्र अब चल्दैन ।”
पूर्व पार्टी उपाध्यक्ष भीम रावललाई गरिएको निष्कासनको निर्णय सही भएको बताएका ओलीले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि पनि निष्कासनको निर्णय हुनसक्ने पनि बताएका छन् । पाण्डे र तिम्सिनाले पार्टीको नाम भजाएर एनजिओहरूबाट डलर कमाइरहेको आरोप ओलीले लगाएका छन् ।
“बिन्दा र उषा पार्टीको पक्षमा कहिल्यै बोलेनन् तर पार्टीको विरुद्धमा मिडियामा, फेसबुकमा, टिभीमा, युट्युबमा धाए । एनजिओका डलर खाँदा स्वाभिमानी भइन्छ ? ठुला कुरा गर्ने ?”, ओलीको भनेका छन् ।
बैठकमा झन्डै दर्जनको संख्यामा नेताहरूले विवादित व्यापारी मीनबहादुर गुरुङसँगको जग्गा लेनदेन काण्ड सच्याउनुपर्ने माग गरेका थिए । सँगै, सो काण्डकै आधारमा भएको कारबाही पनि फिर्ता हुनुपर्ने माग राखेका थिए ।
“केहीले आपत्ति नै जनाउनु भएको थियो, पार्टी बदनाम भयो भन्नुभएको थियो”, ती केन्द्रीय सदस्यले भने, “जग्गा लेनदेनको विषय सच्याउनुपर्छ भन्ने कुरा खुलेर आएको थियो, साथै सोबारे बोल्दा कारबाही परेका नेतामाथिको कारबाही पनि फिर्ता हुनुपर्ने धारणा उहाँहरूले राख्नुभएको थियो ।”
ती सदस्यले बताएअनुसार नेताहरू झपट रावल, प्रकाश शाह, ठाकुर गैरे, खिमलाल भट्टराई, पेम्वा लामा, रचना खड्का र अमृत बोहरालगायतले जग्गा लेनदेन काण्ड र कारबाहीको विरुद्धमा बोलेका थिए ।
नेता खिमलाल भट्टराईले कम्युनिस्ट स्कुलिङअनुसार जग्गा लेनदेनको विषय पचाउन गाह्रो भएको टिप्पणी गरेको ती सदस्यले बताए । “हामी जुन स्कुलिङबाट आएका छौँ, यस्ता निर्णयहरू पचाउन गाह्रो हुने रहेछ”, भट्टराईको भनाई उद्धत गर्दै ती सदस्यले भने, “यस्ता कुरा सच्याउनुपर्छ, पार्टी भविष्य यस्ता कुराले बिगार्छ ।”
यद्यपि, ओलीले “लेबी उठाएर काठमाडौंमा पार्टी कार्यालय बनाउन सम्भव नरहेको” जवाफ दिएको उनले बताए । मीनबहादुर गुरुङ राष्ट्रिय पुँजीपति भएको भन्दै ओलीले राष्ट्रिय पुँजीपतिले दान दिन र आफूहरूले लिनुमा अनर्थ नहुने बताएका छन् ।
“काठमाडौंको महँगो ठाउँमा ५०/१०० रुपैयाँ उठाएर जग्गा किन्न र भवन बनाउन सम्भव छैन”, ओलीले भनेका छन्, “मीनबहादुर जी हाम्रो पार्टीको मान्छे, राष्ट्रिय पुँजीपति, उहाँले दिएको लिँदा के बिग्रन्छ, के अनर्थ हुन्छ, यो राम्रो कुरा हो ।”
एमाले अध्यक्ष ओलीले गत असोज २५ मा एक कार्यक्रमका बिच विवादित व्यापारी मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए । जुन घटना व्यापक विवादमा तानिएको थियो ।
जुन घटनाको विरोध गरेकै आधारमा पूर्व पार्टी उपाध्यक्ष रावल, स्थायी समिति सदस्य पाण्डे र केन्द्रीय सदस्य तिम्सिनामाथि कारबाही गरिएको थियो । रावलसँग पार्टी सदस्यतासमेत खोसिएको छ भने पाण्डे र तिम्सिनालाई ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरिएको छ ।
यद्यपि, मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकले जग्गा लेनदेनको विषयलाई सदर गरेको छ भने लेनदेनको विरुद्धमा बोल्नेमाथि भएको कारबाहीलाई पनि स्वीकृति दिएको छ । सँगै, आगामी दिन मनलागी नबोल्न पनि निर्देशन गरेको छ ।