काठमाडाैं । वातावरणीय अभियानहरूमा क्रियाशील नेपालका अग्रणी गैरनाफामूलक संस्था मैनादेवी फाउण्डेशन (एमडीएफ) र नेपालका अग्रणी रोजगारी पोर्टल तथा मानव संशाधन परामर्शदाता कुमारी जब प्रा.लि. बीच काठमाडौँ ट्रयास कलेक्सन् रेस (केटीसीआर) २०२५ को लागि मुख्य प्रायोजकको रूपमा सहकार्य भएको छ।
पुस २७ गते आयोजना हुने काठमाडौं ट्रयास कलेक्सन् रेस २०२५ केवल दौड मात्र नभएर परिवर्तनका लागि एक अभियान हो। यस कार्यक्रममा सहभागीहरू जोडी बनाएर प्रतिस्पर्धा गर्नेछन् र ५ किलोमिटरसम्म फोहोर सङ्कलन गर्नेछन्। यस अभियानको उद्देश्य स्वास्थ्य, समुहगत कार्यको भावना र वातावरणीय जिम्मेवारीलाई जोड्दै हरियालीको महत्व र जलवायु परिवर्तनविरुद्ध सचेतना अभिवृद्धि गर्नु हो।
कुमारी जब प्रा.लि.का प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, “हामी केवल रोजगारीका अवसरहरू सिर्जना गर्ने मात्र नभई एक असल संसार निर्माण गर्ने अवसर पनि सिर्जना गर्नुपर्छ भन्ने मान्यता राख्छौँ। यसै मान्यताअनुसार हामीले मैनादेवी फाउन्डेसनसँग सहकार्य गरेका छौँ। हाम्रो यस सहकार्यले नागरिक सचेतना बढाउँदै भावी पुस्ताको लागि सुरक्षित वातावरण तयार गर्नेछ भन्ने विश्वास छ।”
मैनादेवी फाउण्डेशनका अध्यक्ष केपी खनालले यस सहकार्यलाई स्वागत गर्दै भने, “काठमाडौँ ट्रयास कलेक्सन् रेस नेपालमा आशा र वास्तविक कामको प्रतीकका रूपमा विकसित हुँदै गएको छ। कुमारी जबसँगको यो सहकार्यले सफा, हराभरा र दिगो समुदाय निर्माणको हाम्रो प्रयासलाई थप बलियो बनाएको छ। हामी मानिसहरूलाई सकारात्मक परिवर्तन गर्न प्रेरित गर्दैछौँ।”
यस वर्षको ट्रयास कलेक्सन् रेसमा ३०० भन्दा बढी स्वयंसेवकहरूको परिचालन हुने र ३,००० भन्दा बढी नागरिकहरूको सहभागिता हुने अपेक्षा गरिएको छ। कुमारी जब प्रा.लि. एक दशकदेखि जनमानसमा सेवा पु¥याउँदै आएको छ र यस सहकार्यमार्फत रोजगार सिर्जनासँगै वातावरणीय सचेतना फैलाउन पनि सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
मैनादेवी फाउण्डेशनले विगत तीन वर्षदेखि यो अभियान सञ्चालन गर्दै आएको छ। तीनकुनेबाट बिहान ७ बजे सुरु भएर माइतिघरमा समापन हुने यस अभियानमा सहभागीहरूले दौडँदै फोहोर संकलन गर्नेछन्। संकलन गरिएको फोहोर काठमाडौं महानगरपालिकासँग सहकार्य गरेर व्यवस्थापन गरिने आयोजकले जानकारी दिएका छन्।