काठमाडौं । साताको चौथो कारोबार दिनको प्रिओपन सेसनमा सेयर बजार परिसूचक (नेप्से) उच्च अंकले बढेको छ । प्रिसेसनमा २३.६५ अंकले बढ्दै नेप्से २६७०.५० को बिन्दुमा उक्लिएको छ ।
उच्च अंकले नेप्से बढ्दै गर्दा कारोबार रकममा पनि बृद्धि भयो । २२ हजार ४४० कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड ३६ लाख ३३ हजार रुपैयाँको भयो । जुन केही दिनयताकै प्रिसेसनमा भएका कारोबारमा उच्च हो ।
यो सेसन बैंक, हाइड्रो, बीमा समूहका कम्पनीको किनबेच उच्च रह्यो । कारोबारमा आएका १०० कम्पनीमध्ये ७१ को मूल्य बढ्दा २४ को मूल्यमा सामान्य गिरावट आयो भने ५ को मूल्य स्थिर रह्यो ।
लगातार बृद्धिका बिच मंगलबार नेप्से एकले अंकको बृद्धिमा खुम्चिएको थियो । यद्यपि, बुधबारको प्रिसेसनले बजारमा उत्साहको संकेत गरेको छ । प्रिसेसनलाई हेर्दा, आजको कारोबार उच्च अंकले बढ्ने सम्भावना देखिन्छ ।