के लेखराज भट्टले एमाले छाडेका हुन् ?-Sutra News

के लेखराज भट्टले एमाले छाडेका हुन् ?

बुधबार, २४ पौस २०८१

बुधबार, २४ पौस २०८१

काठमाडौं । सामाजिक सञ्जालमा नेकपा (एमाले)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टी त्यागेको चर्चा फैलिएको छ । विशेषगरी माओवादी निकटका फेसबुक ग्रुपहरुमा उनले एमाले त्यागेको चर्चा फैलाइएको छ ।



जसकै आधारमा कतिपय सञ्चार माध्यमले पनि समाचार लेखेका छन् ।

तर, सामाजिक सञ्जालमा आएका चर्चा मिथ्या भएको भन्दै भट्टको स्वकीय सचिवालयले खण्डन गरेको छ । भट्टका स्वकीय सचिव हितेस ओझाले एक विज्ञप्ती जारी गर्दै भट्टले एमाले परित्याग गरेको हल्ला तथ्यहीन र भ्रामक भएको बताए ।

“सामाजिक सञ्जालमा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टसहित धेरैले पार्टी परित्याग गरेको खबरमा ध्यानाकर्षण भएको छ”, एक विज्ञप्ति जारी गर्दै ओझाले भनेका छन्, “सम्पूर्ण शुभचिन्तक तथा नेकपा ९एमाले० का नेता–कार्यकर्ताहरूमा यस्ता गलत, भ्रामक र तथ्यहीन हल्लाका पछाडि नलाग्न आग्रह गर्दछु ।”

केही दिनअघि भट्टको गृहपालिकामा रुपलाल बिकको नेतृत्वमा ४६ जना एमालेका नेता तथा कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएको पत्र बाहिरिएको थियो । बाहिरिएको पत्रमा एमाले महासचिव शंकर पोखरेलको अभिव्यक्तिको कारण एमाले छाडेको बताइएको छ । विशेषगरी ‘जनयुद्ध’को बारेमा प्रहार गरिरहेपछि आफूहरु बाहिरिन बाध्य भएको पनि उल्लेख छ ।

तर, उक्त पत्र सार्वजनिक भएको भोलिपल्ट नै ४६ जनामध्ये २८ जनाले सामूहिक पत्र निकाल्दै आफूहरु एमालेमै रहेको बताएका थिए । साथै, पत्र निकाल्ने बिकलाई कारबाहीको माग पनि गरेका थिए ।

जुन घटना बाहिरिएपछि पूर्वसचिव भीम उपाध्यायले स्वयम् पार्टी सचिव भट्टले नै एमाले छाडेको भन्दै स्टाटस लेखेका थिए । जुन स्टाटसकै आधारमा केही सञ्चार माध्यमले समाचार सार्वजनिक गरेका थिए ।

भट्टका सचिव हितेश ओझाले कुप्रचारको विरुद्ध कानुनी उपचारमा जाने बताएका छन् । ‘यस्ता तथ्यहीन कुप्रचार गर्ने कार्य जारी राखेमा कानुनी कारबाहीको प्रक्रियामा जान्छौँ’, ओझाले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट