२२ दिनपछि अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अञ्जला-Sutra News

२२ दिनपछि अदालतमा उपस्थित भइन् ऋषिकेश पत्नी अञ्जला

बुधबार, २४ पौस २०८१

बुधबार, २४ पौस २०८१

काठमाडौं । पक्राउ पुर्जी जारी भएसँगै फरार बनेकी प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला अदालतमा हाजिर भएकी छन् । बुधबार मोरङ जिल्ला अदालतमा उनी हाजिर भएकी हुन् ।



गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । जुन प्रकरणमा अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षकसमेत रहेकी कोइराला पनि अदालतबाट पक्राउ पुर्जी जारीसँगै बिदाको चिठ्ठी पठाएर फरार बनेकी थिइन् । उनको बिदाको चिठ्ठी उनका पति पोखरेलले पुर्‍याएका थिए ।

तर, पत्नि फरार भएसँगै पोखरेलले भने आफू जोगिन पत्निसँग कुनै सरोकार नभएको टिप्पणी गरेका थिए ।

यस प्रकरणमा सहकारीका अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएकोमा एक जना पुर्पक्षको लागि थुनामा रहेका छन्  भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना अझै फरार रहेको अदालत स्राेतले जनाएकाे छ ।

कोइराला उपस्थित भएसँगै जिल्ला अदालतका पेसी ताेकिएकाे छ । न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको थुनछेक बयान हुने गरी पेसी तोकिएको हाे । अदालतले जनाएअनुसार बयान सकिएपछि थुनछेक बहस सुरू हुनेछ।

पत्निमाथि आरोप लाग्दै गर्दा पोखरेलमाथि पनि छानबिन हुनुपर्ने माग उठ्दै आएको छ । यद्यपि, उनले आर्थिक विषयमा पत्निसँग कुनै सरोकार नरहेको दाबी गर्दै आएका छन् ।

हालै, पोखरेल फेरि पत्निपछि स्वकीय सचिव अनिल कुमार पोखरेलको ठगी प्रकरणले पनि विवादमा तानिएका छन् । स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै उनीमाथि पनि छानबिनको माग उठिरहेको छ ।

यद्यपि, उनले स्वकीय सचिवलाई जिम्मेवारी मुक्त गरेको पत्र सार्वजनिक गरेर पोखरेल चोख्खिने उपायमा देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट