काठमाडौं । बाक्लो हुस्सु र शीतलहरले रुपन्देहीको भैरहवा र आसपास क्षेत्रमा जनजीवन प्रभावित भएको छ । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलस्थितबाट दुई दिनदेखि हवाई उडान प्रभावित भएको हो ।
मौसम अझ केहीदिन मंगलवार र बुधवारको जस्तै बाक्लो हुस्सु, कुहिरो र शीतलहर चल्ने सम्भावना देखिएको छ । सडकमा यातायातका सवारीसाधन कम संख्यामा चलेका छन् । पैदल यात्रु कम छन्। सडक किनारका पेटी र चोकहरुमा चिसोबाट जोगिनकालागि स्थानीय सर्वसाधारण आगो बालेर तापेका छन् ।
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोद रावतलेसामान्य अवस्थामा हवाइ उडान सञ्चालनका लागि १ हजार ८ सय मिटरको भिजिविलिटी आवश्यक पर्नेमा त्यस अनुरुपको भिजिविलिटी नभएकाले हवाइ उडान हुन नसकेको जानकारी दिए ।
बुद्ध, यति र श्री एयरलायन्सले भैरहवा काठमाडौंबिच दैनिक १८ देखि २० वटा र पोखराका लागि एउटा हवाई उडान सञ्चालन हुने गरेको छ । दैनिक सरदर २ हजार ६ सय जनाले यस विमानस्थल हुदै हवाइ यात्रा गर्ने गर्छन् ।