काठमाडौं । साताको चौथो कारोबार दिन (बुधबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा बृद्धि भएको छ । बुधबार ६.५३ अंकले बढ्दै नेप्से २६५३.३८ को बिन्दुमा उक्लिएको छ ।
नेप्से ६ कारोबार दिनदेखि लगातार उकालोमा छ । यसअघि मंगलबार पनि ६.१६ अंकले नेप्से बढेको थियो ।
परिसूचक बढ्दै गर्दा नेप्सेमा कारोबार रकम पनि बृद्धि भएको छ । बुधबार १ करोड ५५ लाख २ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ६ अर्ब ४० करोड ७९ लाख रुपैयाँमाथिको भयो ।
जुन कारोबार रकम केही महिनायताकै उच्च हो । यसअघि सोमबार ६ अर्बमाथिको कारोबार भएको थियो । तर, मंगलबार भने साढे पाँच अर्ब आसपासमै कारोबार रकम सीमित हुन पुगेको थियो ।
बुधबार सबैभन्दा धेरै फाइनान्स समूहको सूचक ४.७७ प्रतिशतले बढ्यो । विकास बैंक २.५३ प्रतिशतले बढ्दा लघुवित्तको सूचक १.५९ प्रतिशतले बढ्यो । जलविद्युत ०.२६, जीवन बिमा र उत्पादन तथा प्रशोधन पनि ०.४० प्रतिशत बढ्यो । अन्य समूहहरुको सूचक भने घट्न पुग्यो ।
बुधबार सबैभन्दा बढी व्यापारको सूचक १.५६ प्रतिशतले घट्दा अन्य समूहहरुको सूचकमा झिनो अंकको गिरावट आएको छ ।
कारोबारमा आएका २४२ कम्पनीमध्ये १३९ को मूल्य बढ्दा ९५ को भने मूल्य घट्यो । ८ कम्पनीको भने मूल्य स्थिर रह्यो ।
बुधबारको कारोबारले नेप्सेमा लगानीकर्ता सक्रिय भएको देखाउँछ । यद्यपि, लगानीकर्तामा मनोविज्ञान अझै स्पष्ट नहुँदा बजारले उचित बाटो लिन नसकेको देखिन्छ ।