काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला अघोषितरूपमा निषेधाज्ञा लगाइएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक लगाइएको छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित प्रतिवादीको बहस सकिन लाग्दा हुनसक्ने सम्भावित हुलदंगालाई मध्यजनर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाए पनि अघोषित निषेधाज्ञाको संकेत के हुनसक्छ भन्ने प्रश्न सृजित भएको छ । लामिछानेको बहस सक्किन लाग्दा प्रशासनले निषेधित क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्दा कतै रवि जेल चलान त हुँदैछैनन् भन्ने प्रश्न पनि खडा भएको छ ।
तर, जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा नभएर सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सम्भावित सुरक्षा चुनौतीका कारण सुरक्षा व्यवस्था कडा पारिएको बताए ।
अदालतको आदेश आउने दिन हुन सक्ने सम्भावित जोखिमलाई टार्न प्रशासनले मंगलबारदेखि नै संवेदनशील प्रशासन, अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ । मंगलबार लामिछानेको थुनछेक बहस सकिएपछि रास्वपाका समर्थकहरूले अदालत बाहिर प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस महामन्त्री गगनकुमार थापाविरुद्ध नाराबाजी गरेका थिए ।
यस्तो स्थितिमा रास्वपाका समर्थकहरूको बाक्लो उपस्थिति रहने आकलन सुरक्षाकर्मीको छ । यता, सहकारीपीडित पनि प्रदर्शनमा उत्रिन सक्ने आकलन गरिएको छ ।