पाठशालाको सट्टामा
खोलिएका स्कुलमा पढेर
गुरुकुलको सट्टामा
अमेरिकी मिसनमा पढेर
नेपाली छोराछोरीले
आमालाई जब मम् भन्न थाले
नेपाललाई सिध्याउन
बिचारको बम बनाउन थाले
क्यामरिज, ह्वाइट हाउस, अक्सफोर्ड, किस्ट, पेन्टागन बर्नहाट, जेभियर, लिटिल एन्जेल्स, मेरिल्यान्ड, सेन्टजोसेफ, एल आर आइ, सेन्ट जेभियर्स सेन्ट मेरिज जस्ता स्कुलमा आफ्ना बच्चा पढाउन पाए हामी अभिभावक गौरव गछौँ । अझै ती स्कुलमा आफ्ना बाबुनानीलाइ भर्ना गर्न नेताहरुको पावर लगाउँछौ। नेपालका प्रायः ठुला नेताहरुले त्यस्तै स्कुलमा आफ्ना बच्चाहरु पढाउँछन।
त्रेता युगमा सत्यको साथ दिने रावणका भाइ बिभिषण श्रीलंकाली जनताको नजरमा देश द्रोही हुन। आफ्नै सहोदर दाजु लन्काधिपती रावणकोविरुद्धमा लागेर बध गराउने गुप्त योजनाको योजनाकार थिए बिभिषण। सत्य समय सापेक्ष हुन्छ कि हुन्न भनेर सोच्न बाध्य गराउने एउटा त्रासदीपुर्ण घटना थियो त्रेतायुगको रावण राम बिचको त्यो युद्ध । अहिले हामी जुन शैक्षिक योग्यताको डिग्री लिइरहेका छौ त्यस्ले देशभक्त नागरिक होइन असंख्य बिभीषणहरु जन्माइरहेको छ। र अहिलेको शिक्षण विधि र बोर्डिङ स्कुलहरुलाइ म बिभीषणहरु जन्माउने कारखाना भन्छु।
एउटा बच्चा लगभग जन्मेको तीन बर्षबाट अहिलेको आधुनिक बोर्डिङ स्कुल धाउन थाल्छ। उसलाई सुरुदेखि अग्रेज र अग्रेजी ठुलो हो भनेर घोकाउन थालिन्छ। स्कुल प्रवेश पछि उस्ले आफ्नो मातृभाषा बोल्न पाउदैन मानौ स्कुल भनेको एउटा अंग्रेजी भाषा सिक्ने ईन्स्टिच्युट हो। अग्रेजी भाषाको लोभ देखाएर अभिभावक लुट्नु नेपाल अधिराज्यमा खोलिएका प्राय सबै बोर्डिङ स्कुलहरुको अभिस्टता हो।
चाहे सुदुरपूर्व पाँचथरमा खोलिएको बोर्डिङ स्कुल होस् वा चाहे सुदूरपश्चिम् कैलाली कंचनपुरमा खोलिएको बोर्डिङ स्कुल होस् । अग्रेजीमा बोल, अंग्रेजीमा निदाउ, अंग्रेजीमा सपना देख, अंग्रेजीमा खाउ, अंग्रेजीमै प्रेम गर र अंग्रेजीमै बाँच भन्ने गुरुमन्त्र नेपाली विद्यार्थीको जन्मजातदेखि रगतमा घोलिन थाल्छ। यात उस्को पाठ्यसामग्रीमा भारतको विषय सामाग्री हुन्छ या अमेरिकि । अनि गौतम बुद्ध नेपालमा होइन भारतमा जन्मिएका हुन भनेर तिनै विदेश प्रभावित बोर्डिङ स्कुलले नै सिकाउन थाल्छ्न।
शिक्षा सेवा होकि व्यापार हो ? स्वस्थ्य सेवा हो कि व्यापार हो ? यदि सरकारले जिम्मेवारी लिने हो भने यी दुवै सेवा हुन र यदि दुवैलाई सरकारले नियन्त्रणमा नलिने हो भने यो पुर्णरूपमा व्यापार हो। व्यापार भैसकेको अवस्थामा यो नाफामुखी प्रबृत्तिबाट धमिलिन्छ। युरोपेली मुलुकमा स्वस्थ्य र शिक्षा सरकारको मातहत हुन्छ। त्याहा स्वास्थ निशुल्क छ शिक्षा पनि निशुल्क छ। जब नागरिकले काम गर्छ अनि त्यसबाट उस्ले कर तिर्छ र त्यही करको बाबजुद त्यहाँको जनताले शिक्षा र स्वस्थ निशुल्क उपयोग गर्न पाउँछन्।
विद्यार्थीबाट लुट्ने आफू चिल्लो गाडी चढ्ने दैनिकी भोज गर्ने मोज गर्ने तर विद्यार्थीले पानी खाने जारमा लेउ लागेको, प्रोजेक्टरको रिमोट बिग्रेको, मेच भाचिएको, शौचालयमा दुर्गन्ध फैलिएको समेत नबनाउने र विद्यार्थीलाई धम्क्याउने प्रबृती फैलिदो छ। स्कुलको कर्तुत बाहिर आउदैन बाहिर आयो भने तिनै निरीह विद्यार्थी लाई निष्कासन गरिदिन धम्की हुन्छ। क्यानटिनबाट समेत कमिसन उठाउने चलन छ यहाँ, तर सबै जना शव भएर बसेका छौ हामी अभिवावक ।
विद्यालय र कलेजमा युनिफर्मको नाममासमेत कमिसन चलिरहेको छ। शैक्षिक सत्रदेखि नै यहाँ दलालीको दलदलमा लाखौ अभिवावक फसिरहेका छन।कितावदेखि टाइसम्म, युनिफर्मदेखि ब्याचसम्म कमिसन खान्छन नेपालका निजि बोर्डिङ र कलेजहरुले। कलेजले कलेजो खाइरहेको हेरिरहेछ सरकारले ।कहि कतै नियन्त्रणको ,नियमनको विधि छैन। लुट्नुसम्म लुट्ने अनि कलेजका प्रीन्सिपल, भाइस प्रीन्सिपल फुट्ने फेरि ठग्ने अर्कै स्कुल खोल्ने यो श्रृङ्खला थियो र अझैसम्म अनवरत छ।
विद्यार्थीहरुले किताब उहाँहरुले भनेको स्टेशनरिबाट किन्नुपर्ने, युनिफर्म उहाँहरुले तोकेको टेलरिङबाट सिलाउनु पर्ने र घरैबाट आफ्ना अभिवावकले बनाएर पठाइदिएको खाजा खान नपाउने नियम बोर्डिङ स्कुलहरुले राखेका छन यो अर्को दादागिरी हो। लुगाफाटो, किताव, कापी, खाना, पानी, सबैमा उहाँहरुकै नियमन उहाँहरुकै दादागिरी छ।
राम्रोसँग आफ्नै लुगा लगाउन नसक्ने निरीह विद्यार्थीबाट हरेक महिना तीनहजार कम्प्युटर फि भनेर उठाउनु कति अपराध हो ? जबकी त्यो बच्चालाई माउस पनि चलाउन आउदैन। पुस्तकालय शुल्क भनेर हरेक महिना पच्चीस सय रुपैयाँ शुल्क लिइएको छ जबकी त्यहाँका पुस्तकालयमा ईसाई धर्मका पुस्तक बाहेक केही देखिएन। मोजा जुत्ता पेटीदेखि ओखतिका नाममा उठाइएका अतिरिक्त शुल्क हेर्दा धिक्कार्न मन लाग्छ बोर्डिङको ठग धन्दा देखेर । हामी शिक्षामा अर्बौँ लगानी गरेर किन मुलुकविरुद्ध उद्द्त हुने बिभिषण जन्माइरहेका छौ ? सबैलाई चेतना हुनु जरुरी भइसकेको छ। हामीलाई रास्ट्रसेवक चाहिएको छ नकि जान्ने बुझ्ने ज्ञान प्राप्त गरेपछि विदेशीको गुलाम बन्न जाने विदेशको गुलामी ?
अहिलेका बोर्डिङ स्कुलका सबै उत्पादनहरु नेपालमा कोहि छैनन् किनकि उनीहरूलाई नेपाल बसेर केही हुदैन तिमीहरूको भविष्य भनेको अमेरिका, अस्ट्रेलिया वा युरोप नै हो भनेर रगतमा इन्जेक्सन हालिएको हुन्छ र एसईई सकिना साथ उ विदेशको लागि तयारी गर्न थाल्छ। उ नेपालप्रति यति वाक्क हुन्छ कि नेपाल भनेको त गरीव बस्ने कहिले पनि विकास नहुने कुनैपनी सुविधा नभएको आदिवासी बस्ने ओडार हो भनेर शिक्षा दिइएको हुन्छ।
हामीले अहिले हाम्रा छोराछोरी लाई दिइरहेको शिक्षा भनेको विदेश जान सिकाउने र उतै बस्न मनाउने गुरुमन्त्र हो। विद्यालय शिक्षा र प्लस टु उर्तिण गरेका लगभग ६५ प्रतिशत विद्यार्थी विदेश पलाएन भइरहेका छन् । शिक्षा मन्त्रालयलाई नो अब्जेक्सन लेटर दिन भ्याइ नभ्याइ छ। सरकारले शिक्षा क्षेत्रमा वर्षेनी लगानी वृद्धि गर्नुको पछाडी के यहि नतिजाको लागि थियो त ? इन्जिनियर, पाइलट र डाक्टरको मात्रै सपना देख्ने अभिभावक समयसँगै एक्लिन थालेका छन हिजोआज ।