काठमाडाैं । मोरङ जिल्ला अदालतले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नि अंजला कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको छ । बुधबार जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कोइरालाको तर्फबाट बुधबार ९ जना वरिष्ठ अधिवक्तासहित ११ जनाले बहस गरेका थिए।
गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर गरेको थियो । जुन प्रकरणमा अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षकसमेत रहेकी कोइराला पनि अदालतबाट पक्राउ पुर्जी जारीसँगै बिदाको चिठ्ठी पठाएर फरार बनेकी थिइन् ।
२२ दिन हराएपछि काेइराला बुधबार अदालतमा उपस्थित भएकी थिइन् । कोइराला उपस्थित भएसँगै जिल्ला अदालतका पेसी ताेकिएकाे थियाे ।
२२ कराेड रकम हिनामिना गरेकाे यस प्रकरणमा रंगेली २ का वडाध्यक्ष सन्तलाल खवास यसअघि नै धरौटीमा रिहा भइसकेका छन् भने अध्यक्ष शम्भु रौनियारसहित २४ अभियुक्त फरार छन्।
सम्बन्धित समाचार