काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतकाे सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । पोखरेललाई मोरङ प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो ।
पक्राउ परेका पोखरेलमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
पोखरेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिइ ठगी गरेको आरोपमा जाहेरी परेको थियो ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई गत सोमबार जिल्ला अदालत मोरङले पक्राउ अनुमति दिएकाे थियाे ।
ठगी आरोपमा मुछिएको विषय सार्वजनिक भएपछि सभापति ऋषिकेशले स्वकीय सचिवको जिम्मेवारीबाट अनिललाई गत शुक्रबार हटाएका थिए ।