काठमाडौं । पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको एक प्रयासले हजारौं विद्यार्थीलाई राहत मिलेको छ । अहिलेसम्म त्रिभुवन विश्वविद्यालयका नेपाली विषय बाहेकका अरु विषयमा अंग्रेजी भाषामा मात्र प्रश्नपत्र आउने गर्थें । तर सरकारी स्कुलबाट एसईई पास गरेका करिब ७० प्रतिशत भन्दा धेरै विद्यार्थीहरुलाई कलेजस्तरमा पुगेपछि प्रश्न पत्र नबुझेर परिक्षामा अनुत्तीर्ण हुनु पर्ने अवस्था रहँदै आएको थियो ।
देशका अधिकांश कलेजहरुमा नेपाली भाषामै पठनपाठन हुँदै आएको छ । विद्यार्थीहरु पूर्ण रुपमा नै नेपाली भाषामा नै परिक्षाको तयारी गर्ने गर्दछन् । तर परिक्षामा अंग्रेजी भाषामा मात्र आउने प्रश्नपत्रका कारण विद्यार्थीहरुमा अन्योलता पैदा हुने गर्दथ्यो ।
अब विश्वविद्यालयका सबै विधाका परिक्षाहरुमा नेपाली/अंग्रेजी दुवै भाषामा प्रश्नपत्र सोधिने प्रावधान भएको छ र यो प्रयोगमा समेत आइसकेको छ । यस्ले गर्दा हजारौं विद्यार्थीलाई राहत मिलेको छ। विषयवस्तुको ज्ञान हुँदा पनि प्रश्नपत्र नबुझेर विगतमा कयौंपटक विद्यार्थी अनुत्तीर्ण हुनुपर्ने अवस्था थियो।
यस पटक स्नातक तहको प्रथम वर्षबाट सुरु भएको नेपाली/अंग्रेजी दुवै भाषामा आएको प्रश्न पत्रले विद्यार्थीमा राहत भएको छ । प्रश्न नबुझेर फेल हुनुपर्ने अवस्थाको अन्त्य भएको छ । देख्दा सामान्य लाग्ने भएता पनि पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको उक्त निर्णय लाखौँ विद्यार्थीको भावनासंग जोडिएको थियो ।