काठमाडौं । साताको अन्तिम कारोबार दिन (बिहीबार) सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १८.१४ अंकले घट्दै नेप्से २६३५.०९ को बिन्दुमा ओर्लिएको छ ।
परिसूचकमा गिरावट भएपनि बिहीबार कारोबार रकम भने केही महिनायताकै उच्च रह्यो । १ करोड ५७ लाख २३ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ३० करोड ५३ लाख रुपैयाँको भयो ।
बिहीबार होटल तथा पर्यटनबाहेक सबै समूहको सूचक घट्न पुग्यो । सबैभन्दा बढी फाइनान्सको सूचक २.९३ प्रतिशतले घट्दा सबैभन्दा कम सामूहिक लगानीको सूचक ०.२१ प्रतिशतले घट्यो ।
कारोबारमा आएका २४२ कम्पनीमध्ये १८०को मूल्य घट्यो । ५५ को मूल्यमा बृद्धि हुँदा ७ को मूल्य स्थिर बन्यो ।
दोहोरो अंकले सूचक घटेपनि बाराही हाइड्रो र हिमालयन पावरको मूल्यमा १० प्रतिशतले बृद्धि भयो ।
नेप्से लगातार ६ कारोबार दिनदेखि नै उकालोमा थियो । २५७६ बाट उक्लिएको नेप्से बुधबारसम्म आइपुग्दा २६५३ को बिन्दुसम्म उक्लिएको थियो । झण्डै ८० अंकको बृद्धिका बिच केही लगानीकर्ता नाफा बुक गर्न तम्सिँदा नेप्सेमा गिरावट आएको देखिन्छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेका कम्पनीहरुको मूल्यलाई विश्लेषण गर्दा पनि अधिकांशका लगानीकर्ताले नाफा बुक गरेको पाइन्छ । बिहीबारको गिरावटले बजारलाई थप परिपक्क बनाएको बजारका जानकार बताउँछन् । यसले आगामी कारोबार दिन बजार थप बढ्न सक्ने सम्भावनालाई पनि दर्शाएको छ ।