काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थी संगठन अनेरास्ववियुलाई एमालेको प्रचारमा टिकटक लगाएतका सामाजिक सञ्जाल एमालेमय बनाउन निर्देशन दिएका छन् । संञ्जालमा एमालेको प्रचारको बाढी ल्याउनसमेत निर्देशन दिएका छन् ।
पार्टी कार्यालय च्यासलमा आयोजित अनेरास्ववियुको कार्यशालामा उनले सामाजिक सञ्जालमा आक्रामक शैलीमा प्रस्तुत हुन निर्देशन दिएका छन् । “हाम्रा साथीहरूलाई एग्रिसिभ्ली अघि बढ्न आग्रह गर्छु । हामी मुड्कीको राजनीति गर्दैनौँ । तर, काममा, सक्रियतामा, प्रचारप्रसारमा एग्रेसिभ,” ओलीले भने ।
उनले पत्रपत्रिकामा आएको कुरामा ध्यान नदिई हातमा भएको मोबालबाट प्रचार गर्न निर्देशन दिए । “पत्रपत्रिकामा के आयो भने छाडिदिनुस्, युट्युबमा के आयो भनेर छोडिदिनुस् । अनेरास्ववियुको प्रचारको समुन्द्र, बाढी बगाउनुस् न, मोबाइलमा । अरू चाहिँदैन, अनेरास्ववियुको आवाजले नै धान्छ,” ओलीले भने ।
“टिकटकमा अरूले मौका नै नपाउने गरी सधैँ एमालेले भर्ने बनाइदिनुस् न,” ओलीले भने , “अरूको हेर्नै नभ्याउने गरी खोल्ने बित्तिकै एमाले, एमाले, अनेरास्ववियु, अनेरास्ववियु…।”