काठमाडौं । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेकाे छ ।
सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
अब अदालतले तोकेको धरौटी बुझाएर रिहा लामिछानेले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।
सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेको थियो ।
सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध गएको ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ ।
मुद्दा दायर गर्दा सरकारी वकिलले रवि लामिछानेसँग सहकारी ठगी गरेको कसुरमा मात्रै ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो मागदाबी गरेको थियो। यस्तै, सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ स्रोत नखुलेको भन्दै बिगो मागदाबी गरेको थियो।
सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ । जसमा लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमा समेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलिरहेको छ ।