काठमाडौं । कास्की जिल्ला अदालतले छोड्न आदेश दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने तत्काल नछुट्ने भएका छन् । काठमाडौं प्रहरी उनलाई पुनः पक्राउ गर्न तयार भएर बसेको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले रविसँग ६५ लाख धरौटी माग गरेको छ। उक्त धरौटी बुझाए पनि उनी तत्काल रिहा हुन भने पाउने छैनन्। किनभने, यसअघि अभियोगपत्रमै रविलाई तत्काल छुटी जाने भएमा प्रहरीलाई नै जिम्मा दिन सरकारी पक्षले माग गरेको छ।
कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा कसुरको अभियोगमा मुद्दा दायर हुँदा उनका विरुद्ध रुपन्देही, काठमाडौँ, चितवन र वीरगन्जमा पनि सहकारी ठगीसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेकाले उनलाई प्रहरी प्रतिनिधिकै जिम्मा दिन माग गरिएको छ।
अब बुटवल (रुपन्देही)को सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन सहकारी र वीरगन्ज (पर्सा)को सानो पाइला सहकारी ठगी प्रकरणमा मुद्दा चलाउने तयारी छ।