सिरहा । बिहीबार सिरहाको लाहन दनिभर जसो तनावग्रस्त बन्यो । स्थानीयहरुले घण्टौँसम्म टायर बाली पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारे ।
आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले बल नै प्रयोग गर्यो । आन्दोलनकारीको अवरोधलाई हटाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवान बताउँछन् ।
बिहीबारको झडपमा १० जना बढी प्रहरी घाइते भएको उनले बताए । जसमा स्थानीय पनि दर्जनौको संख्यामा घाइते छन् ।
आन्दोलनकारीले कृषि विकास बैंकको लाहन शाखामा ढुङ्गामुढा गरेका थिए । यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको थियो । जुन झडपको अवस्था नियन्त्रणबाहिर पुगेपछि दिनभर अवस्था तनावग्रस्त बन्यो ।
के थियो विवादको कारण ?
बिहीबार तनावको अवस्था बनेको र अझैसम्म पनि मथ्थर नबनेको विवादको कारण कृषि विकास बैंकको लहान शाखाले करोडौंको जग्गा लिलाम बिक्री गरेको सन्दर्भमा हो । स्थानीयका अनुसार करोडौं पर्ने जग्गालाई निकै सस्तोमा लिलाम बिक्री गरिएको थियो ।
स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते रू ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गरेको उनी बताउँछन् ।
यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले यस कृषि बैंकमा तालाबन्दी गरेका थिए । सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो । सो वार्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारदा बताउँछन् ।
“दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो । यहाँ बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्यांकन ८० लाख गरेर रू ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ, तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर रू ६५ लाख मूल्यांकन गरी रू ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ”, उनले भनेका छन् ।
चलनचल्ती अनुसार रू एक करोड ४५ लाखमा बिक्री हुने जग्गा रू ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताए । “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ, सोझो मान्छे जसरी पनि ठगिनेरहेछ”, उनले भनेका छन्, “हामीलाई सरकारले न्याय गर्नुपर्छ ।”
यता कृषि विकास बैंक लहान शाखाले भने यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताएका छन् । उनले ऋणीलाई कानुनी प्रक्रियाबाट समस्या समाधान खोज्न आग्रह गरेका छन् ।
“हामीलाई प्राप्त सूचनाअनुसार २०७९ सालदेखि ऋणीले सावाँ र ब्याज नबुझाएको र सम्बन्धित बैंकले चार पटक सूचना निकाली जग्गा लिलाम सकार गरेको बुझिन्छ, ग्राहकलाई प्रक्रिया नमिलेको वा चित्त नबुझेको भए कानुनसम्मत रूपमा आउनुभयो राष्ट्र बैंकले सहजीकरण गर्नुपर्छ, हामी त्यो गर्छौँ”, उनले भनेका छन् ।
यद्यपि, पछिल्लो समय बैंकहरुले ऋणिलाई सूचना नै नदिइ धरौटीमा राखिएको सम्पत्ति निकै सस्तोमा लिलाम बिक्री गरेका थुप्रै घटनाहरु सार्वजनिक भएका छन् । जसमा बैंकभित्रबाटै र केही बिचौलियाको पनि मिलेमतो रहेको पाइन्छ । नियमनकारी निकायको प्रष्ट भूमिका नहुँदा पनि यस्ता घटना घट्ने गरेको पीडितहरु बताउँछन् ।