ओली अभिव्यक्तिले तरंगित कांग्रेस -Sutra News

ओली अभिव्यक्तिले तरंगित कांग्रेस 

कांग्रेस नेता एनपी साउद भन्छन्– प्रधानमन्त्रीकाे अभिव्यक्ति सहमति विपरीत छ, यसले गठबन्धनको औचित्य र सान्दर्भिकताको विषयमा सोच्न आवश्यक बनाएको छ...

शुक्रबार, २६ पौस २०८१

शुक्रबार, २६ पौस २०८१

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको सन्दर्भमा दिएको अभिव्यक्तिसँगै सत्ता साझेदार नेपाली कांग्रेस तरंगित बनेको छ । ओलीले पार्टी केन्द्रीय समितिको बैठकको समापन सत्रलाई सम्बोधन गर्दै २०८३ भित्र संविधान संशोधन सम्भव नरहेको बताएका थिए ।



उनले एकलरूपमा संविधान संशोधन २०८७ मा मात्रै सम्भव भएको बताएका थिए । “हामी अहिले पनि संविधान संशोधन गर्न चाहिने दुई तिहाइ जुटाउने पक्षमा छौँ, तर राष्ट्रिय सभाका कारण सम्भव भइरहेको छैन”, ओलीले भनेका छन्, “संशोधन त गर्ने नै हो, तर ०८७ मा ।”

नेपाली कांग्रेस र नेकपा (एमाले)का बिच सरकार गठनको सहमति हुँदै गर्दा भएको ७ बुँदे सहमतिमा संविधान संशोधनको एजेन्डालाई प्राथमिकतामा राखिएको थियो । दुई दलले सहकार्यको मुख्य कारण नै संविधान संशोधनलाई देखाएका छन् ।

“राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदअनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने”, ७ बुँदेको बुँदा नम्बर २ मा भनिएको छ ।

तर, ओलीको सम्बोधनसँगै भने सरकार र गठबन्धनको एजेन्डा संविधान संशोधन नरहेको प्रस्ट्याउँछ । जुन अभिव्यक्तिले सत्ता साझेदार कांग्रेस तरंगित बन्न पुगेको हो ।
ओलीको भनाइप्रति कांग्रेसले आधिकारिक धारणा व्यक्त नगरे पनि नेताहरूले सार्वजनिकरूपमा आपत्ति जनाएका छन् । नेताहरूले ओली अभिव्यक्तिले गठबन्धनको औचित्यमाथि नै प्रश्न उठाएको बताउँछन् ।

कांग्रेस नेता नेता अर्जुननरसिंह केसी संविधान संशोधनको सन्दर्भमा ओलीले दिएको अभिव्यक्तिले ७ बुँदे सहमतिको अपमान गरेको बताउँछन् । केसीले ओलीको अभिव्यक्तिसँगै गठबन्धनको औचित्य पनि सकिएको टिप्पणी गरेका छन् ।

“२०८७ नभई संविधान संशोधन नै हुन सक्दैन भन्ने प्रधानमन्त्रीको भनाइले यो सरकार दुई वटा ठुलो–ठुलो दलबाट जो बनेको छ, त्यसको ७ बुँदे सहमतिमाथि अपमान भएको छ र यो सरकारको औचित्य पनि समाप्त भएको छ भन्ने मेरो आफ्नो दृष्टिकोण छ”, उनले भनेका छन् ।

ओलीको अभिव्यक्ति गम्भीर भएको बताएका केसीले गठबन्धनकै समीक्षा गर्न आवश्यक रहेको बताएका छन् ।

केसीको जस्तै बुझाई नेता एनपी साउदको पनि देखिन्छ । उनले पनि ओली अभिव्यक्तिले सरकार र गठबन्धनको औचित्यमाथि प्रश्न उठाएको बताउँछन् ।

“हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन्, यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ”, साउदले भनेका छन्, “तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरीत छ, यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।”

नेताहरूको सार्वजनिक भनाइलाई केलाउँदा ओली अभिव्यक्तिप्रति कांग्रेस तीव्र असन्तुष्टि देखिन्छ । कांग्रेसले गठबन्धनकै विकल्प खोज्न सक्ने पनि संकेत देखाएको छ ।

पछिल्लो समय राष्ट्रिय राजनीतिका केही मुद्दालाई लिएर कांग्रेस र एमालेबिच मतान्तर बढ्दै गएको पाइन्छ । सरकारकै कतिपय निर्णयलाई कांग्रेसले एमालेको एकांकी निर्णय भन्ने गरेको छ । सुशासनसम्बन्धी एजेन्डामा सरकार नेतृत्वको भूमिकामाथि औँला उठाइरहेको कांग्रेसले ओलीका कतिपय निर्णय कार्यान्वयनमा समेत अवरोध गरेको छ ।

सम्बन्धित समाचार

संविधान संशोधनको मुद्दा : सत्ताको भर्‍याङमात्रै ! 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट