काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउने तयारीमा छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।
बिहीबार नै धरौटी बुझाएर छुटेका लामिछाने शुक्रबार काठमाडौं आउन लागेको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार काठमाडौंमा आएसँगै उनी काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनेछन् ।
लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।
जुन प्रकरणमा सहकारीकी लेखा समिति सदस्य सुनिता नेवा र ऋण उपसमिति सदस्य कमल लामा धरौटीमा रिहा भइसकेका छन् ।