काठमाडौं । राष्ट्रिय राजनीतिमा यति बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको शीर्ष भेटवार्तालाई लिएर चर्चा चलेको छ । उनले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सत्तारुढ नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत दलका शीर्ष नेताहरूलाई भेटेका छन् ।
सँगै, लिङ्देनले विभिन्न देशका राजदूतसँग पनि भेटवार्ता गरेका छन् । लिङ्देनले एकपछि अर्को गरी के एजेन्डा र के उद्देश्यमा भेटवार्ता गरिरहेका छन् ? भन्ने प्रश्न आमरूपमा उठेको छ ।
राप्रपा यति बेला ३०३औँ पृथ्वी जयन्ती मनाउने कार्यक्रममा पनि जुटेको छ । उसले सो अवसरमा शनिवार चियापानसहित विभिन्न कार्यक्रमको पनि आयोजना गरेको छ ।
चियापान कार्यक्रमको पूर्व सन्ध्यामा के लिङ्देन नेताहरूलाई चियापानको निम्ताका लागि कार्ड बाँड्दै हिँडिरहेका मात्रै हुन् त ?
राप्रपाका प्रवक्ता मोहन कुमार श्रेष्ठका अनुसार अध्यक्ष लिङ्देनको भेटवार्ताको मुख्य उद्देश्य नै चियापानमा निम्ता गर्नु हो । यद्यपि, शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै गर्दा राजनीतिक विषयमा पनि छलफल भएको उनले स्वीकार गरे ।
“राप्रपाले राष्ट्रिय एकता दिवसको रूपमा रहेको पृथ्वी जयन्तीलाई मनाउने परम्परा धेरै अगाडिदेखि थालेको हो, सोही कार्यक्रममा सबै राजनीतिक दलका नेताहरूलाई पनि बोलाउने गरेका छौँ, अध्यक्ष लिङ्देनको भेटवार्ता नेताहरूलाई कार्यक्रममा निम्ता गर्नका लागि पनि हो”, उनले भनेका छन्, “यद्यपि, शीर्ष नेताहरूसँग भेटवार्ता हुँदै गर्दा राष्ट्रिय राजनीतिक एजेन्डामा छलफल नहुने भन्ने हुँदैन ।”
श्रेष्ठले बताएअनुसार भेटवार्ताका क्रममा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग अहिलेको राष्ट्रिय राजनीतिको विषयमा पनि गहिरो छलफल भएको छ । सत्तारुढ दलका नेताहरूसँग राप्रपाले उठाएका केही मागबारे पनि जानकारी गराएको छ भने विपक्षी दलका नेताहरूसँग सम्भावित सहकार्यबारे छलफल भएको उनले बताए ।
श्रेष्ठका अनुसार सत्तारुढ दललाई एकताको प्रतीकको रूपमा रहेको पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसको रूपमा मनाउने परिपाटी मिलाउन माग गरिएको छ । सँगै, सतहमा सरकारबारे उठेका प्रश्नको पनि जवाफ माग गरिएको छ ।
भेटवार्ताको केन्द्रमा अध्यादेशको त्रास
अहिले सरकार राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारीमा देखिन्छ । संसद् अधिवेशन बोलाउन आनाकानी गरेको सरकारले अध्यादेशको तयारी गरिरहँदा साना दलहरू त्रसित देखिन्छन् ।
अध्यादेशको त्रासमा राजावादी राप्रपा पनि देखिएको छ । राप्रपाभित्र चरम विवादको अवस्था विकास भइरहँदा अध्यादेशले विभाजनमा त सहयोग पु¥याउँदैन, भन्ने प्रश्न उब्जिएको छ । यस्तोमा अध्यक्ष लिङ्देनले विभाजनलाई रोक्न लागि भेटवार्ता बढाएको स्रोत बताउँछ ।
पार्टी प्रवक्ता श्रेष्ठ पनि दलहरूसँग अध्यादेशको विषयमाथि छलफल भएको स्वीकार गर्दछन् । “हो, अहिले साना दल विभाजन गर्न अध्यादेश ल्याउन लागिएको भन्ने चर्चा छ, राप्रपाले यसरी दल विभाजनको खेती गरेर हुँदैन, यसरी राजनीतिक स्थायित्व हुँदैन भनेर सत्तारुढ दलहरूलाई सम्झाएको छ”, श्रेष्ठले भनेका छन्, “यद्यपि, हामीभित्र त्यस्तो कुनै समस्या छैन ।”
श्रेष्ठले नकारे पनि राप्रपाभित्र समूह नै बनाएर नेताहरू विभाजनको तयारीमा लागेको देखिन्छ । विशेषगरी वरिष्ठ नेताहरू डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जबरा पार्टी अध्यक्ष लिङ्देनको विकल्पमा जुटिरहेको पाइन्छ । जसमा महामन्त्री डा. धवल शमशेर राणा पनि सक्रिय देखिन्छन् ।
अहिले सतहमा कमल थापालाई भित्र्याउने चर्चा पनि राप्रपाभित्र चलिरहेको छ । जसमा राप्रपाभित्रको असन्तुष्ट समूह लागि परेको स्रोतको भनाई छ । असन्तुष्टले लिङ्देनको विकल्पमा थापालाई अगाडि सार्न खोजेको बुझिएको छ । जसलाई जवाफ दिने उपायको खोजीमा लिङ्देन जुटेको सम्भावनालाई नकार्न सकिँदैन ।