काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आइतबारमात्र काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । बिहीबार कास्की जिल्ला अदालतको आदेशपछि थुनामुक्त भएका लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आइरहेका छन् ।
लामिछाने आइतबारमात्रै अदालत उपस्थित हुने सो पार्टीका सह–कोषाध्यक्ष दीपक बोहोराले जानकारी गराएका छन् ।
पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडेका थिए । रविलाई आफैं अदालतमा उपस्थित हुने शर्तमा प्रहरीले परिवारको जिम्मा लगाएको थियो ।
लामिछाने हवाई मार्गबाटै काठमाडौं आउने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएपछि स्थलमार्गबाटै पोखराबाट काठमाडौं गएको रास्वपा कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।
गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको थियो । कास्कीको सूर्यदर्शन सहकारी लगायतमा परेको मुद्दाको अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले उनलाई हिजो बिहीबार ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।