क्यालिफोर्निया/यु.एस.ए. । हामी चेतनामा रहेर आफ्ना दिनचर्या गरिरहेका हुन्छौ । हाम्रो चेतनाले शरीरमा बल रहेसम्म काम गर्नु पर्छ भन्छ, तर शारीरिक बलको भरमा काम गर्नु र मानसिक बलको भरले काम गर्नु फरक मानिन्छ । शारीरिक बल लगाएर गरिने कामलाई मानशिक बल पनि लगाइयो भने जस्तोसुकै भारी कामलाई पनि सजिलोसँग फत्ते गर्न सकिन्छ ।
थाकेको शरीर आराम चाहन्छ, तर थाकेको मन स्वतन्त्रता चाहन्छ । शरीर थाकेमा एक दुई दिन आरम गर्न सकिन्छ र शरीरलाइ आफ्नो लयमा ल्याउन सकिन्छ ।
मनलाई आराम कसरी दिने र मन थाक्यो भने के गर्ने ?
थकित मन जहिले पनि स्वतन्त्रता चाहदो रहेछ । थाकेको मन भित्रको स्वतन्त्रता दिन हामी घुम्न निस्कन्छौ । आफन्त, साथिभाइ भेट्छौ । मनका सुखदुःख एक आपसमा साटासाट गर्छौ।
कहिलेकाही बाहिर निस्कनुको मजा नै बेग्लै हुँदो रहेछ । धेरै समय पछि म पनि घुम्न निस्केकी थिए । आफ्नो देश बाहिर मनको थकान मेट्नको लागि । हामी गृहिणी पनि हौ । घरको काम पनि गर्नुपर्ने हुन्छ । सबै कुरा मिलाउनुपर्छ ।
यस पटक म काम विशेषले दार्जिलिङ जान्छु । दार्जिलिङ मेरो लागि पहिलो यात्रा थिएन । एक/दुई चोटि आइ सकेकी छु । यो पटक मलाइ दार्जिलिङ नयाँ लाग्यो । मन यसै मख्ख छ । अहो ! दार्जिलिङ नेपाली भाषि र नेपालीहरुको एकताको थलो बाहिर अरुको मुलुकमा जादा पनि नेपाली भाषामा बोल्न पाँउदा मन असाध्यै खुसी हुन्छ ।
दार्जिलिङ एउटा व्यस्त सहर हो । यहाँको सामाजिक जीवन सिङ्गो नेपाली जीवन हो । यहाँ नेपालीहरुको आगमनको इतिहास लामो छ । पुर्वमेचिका मानिसहरु कोइला खानिमा काम गर्नदेखि लाहुरे हुनसमेत हाम्रा पुर्खाहरु यता आए । इलामको जस्तै चियाका बगानहरु यहाँ पनि देख्दा रमाइलो लाग्छ। ब्रिटिशकालीन छुकछुके रेल देख्दा इतिहासमा हराउन मन लाग्छ । हामी नेपालीहरुको भाषा साहित्यका आदि पुरुष भानुभक्तलाई यहाँ गरिने सम्मान गज्जबको छ।
दार्जिलिङ विविध सँस्कृति मिलेर बनेको सहर भएर पनि नेपाली भाषिको बाहुल्यता भएको सहर हो । भारतीय सरकारले नेपाली भाषालाइ मान्यता दिएको छ । दार्जिलिङमा जन्मेर नेपाललाई कर्मभूमिका रूपमा पुज्ने सुर्यबिक्रम ज्ञवाली हुँदै बिख्यात कलाकार लैनसिंह वाङ्देल, प्रसिद्ध सङ्गीतकार अमर गुरुङ, गोपाल योन्जन जस्ता युगिन व्यक्तित्वलाइ यहाँको भुमिले जन्मायो ।
शिक्षितहरु बस्ने सुसभ्य सहर हो दार्जिलिङ । ब्रिटिशकालको सभ्यताले यहाँको सहरलाई आधुनिक मात्रै बनाएन अपितु मानिसको व्यवहार र व्यवस्थापनलाई पनि आधुनिक बनायो । हामी देश विकास भनेको सडक र भवनको उन्नतिलाई मात्रै मान्छौ तर त्यस्तो होइन । सत्कार नभएको सहर के काम ? तर दार्जिलिङ सत्कार पाइने सहर हो । वास्तवमा देश विकास भनेको यस्तो पो रहेछ भन्ने लाग्यो । ती सडकमा रोपिएका अग्ला अग्ला पुराना रुखहरु कोहि पालुवा हालेर हरिया त कोहि बुढा भएर सुकेका देख्दा मेरो मन छोयो । नेपालमा घरको छेउमा पिपलको बोट उम्रियो भने अल्छिना लाग्छ भनेर बोट नै फाल्छन तर यहाँ भने घरको आडमा रोपेको देखे ।
रुख बिरुवाका हाँगाहरू भवनका झ्यालहरूमा आड लिइरहेका छ्न् । मेरो मन मस्तिष्कमा बसेका दृष्यसगै यो ठूलो शहर यसरी प्रदुषण मुक्त भएको रहेछ भनेर सोचेँ। प्रदूषण यहाँ रोपिएका रुखहरुले निल्दा रहेछन ।
सोच्छु भिड भित्र पनि कसरी मान्छेहरुले जोगाइ राखेका छ्न रूखहरुलाई ? यहाँका मानिसहरुलाइ रुख बिरुवाको महत्त्वबारेमा सरकारले कति धेरै सचेत गराएको रहेछ । देशमा समय र विकाससंगै प्रकृतिलाई जोगाउन सकिएमा हामी सबैलाइ फाइदा हुदोरहेछ भनेर दार्जिलिङबाट सिक्न जरूरी छ ।
हाम्रोमा त देश विकास गर्न रुख काटिन्छन । देश बिनास गर्न पनि रुख नै काटिन्छन । विकासका नाममा बाटो छेउको चौतारो पहिले मासिन्छ । पुनर्निर्माण गर्ने योजना नै बन्दैन । विकासका नाममा बोट बिरुवाहरु यसरी मासिदै गयो भने नेपालको धन हरियो बनको अस्तित्व नै लोप भएर जाने खतरा देखिन्छ ।