कथा : “मदिरालय”-Sutra News

कथा : “मदिरालय”

"त्यति राम्री बैशले भरियकी साहुनीसँग बसेर बियर तन्काउनु कम्ती मजा आउदैन ! तर मान्दिन मोरी "!

शनिबार, २७ पौस २०८१

शनिबार, २७ पौस २०८१

बाइस तेईस बर्षकी एउटि खाइलाग्दी केटी मेरो अगाडि आएर ढक्क उभिन्छे । यो मदिरालय उसैको हो ।



बाईस किलोमीटर पिच गर्ने ठेक्का पारेपछि गाउँ घरका झिना मसिना गुण्डा गुन्द्रुकेहरु मेरो पछि लाग्न थाले । ठेक्का परेपछि मैले यहि पार्टी दिएको थिए । त्यो दिन पार्टीको मात्रै तीन लाखको बिल भुक्तानी गरेको थिए मैले मन्दिरालाइ । त्यो दिनदेखि मेचमा बस्नासाथ उ अगाडि आएर सोधिहाल्छे- ” के सेवा गरु साब ”

यो म्याग्दी चोकको “मन्दिरा मदिरालय” । यस्लाइ म सभ्य भाषामा मधुशाला भन्छु । यहाँ दिउँसै चिसो बियर पिउन आउछन युवा युवती । आजकल युवाहरू भन्दा पनि बढी युवतीहरू पिउछन । बियर तान्दै चुरोटको धुवाँको सर्को गोलो पारेर फुस्स फुस्स आकाशतिर फुक्छन युवतीहरु । स्वस्थानी युगकी गोमा ब्राह्मणिले ७ बर्षमै बिहे गर्नु पर्ने बाध्यता छैन अब। आजकल केटीको भिडमा केटाहरु हुनु जरुरी छैन । मनोरञ्जन गर्ने शैली बदलिएको छ ।

मन्दिरा बिहान कलेज जान्छे । दिउँसो र बेलुकीसम्म यहि मदिरालयमा बस्छे । सबैको आ-आफ्नै ग्याङ हुन्छ । मन्दिराको आफ्नै ग्याङ छ । उ कलेजबाट सिधै यहि आउछे । अरु चारवटि महिलाहरु छन त्यहा । पुरुष कोहि छैनन । पाँच जनाको महिला नेतृत्वले यो “मन्दिरा मदिरालय ” भव्यताका साथ चलाएको छ । मन्दीरा साहुनी हो । उन्का बाबूले भारतीय आर्मीबाट अवकाश पाए पछि पेन्सनमा आएको रकमले छोरीलाइ मदिरालय खोलिदिएका रेछन। यो सामान्य भट्टी होइन ।

यहाँ सामान्य मान्छे आउदैनन । यहाँ ठेकेदार पनि क वर्गका आउछन । हरेक मध्यान्हमा फिल्डमा काम गरेर थाकेको हुन्छु । कताकता मन्दिरा मदिरालयको चिसो बियरको तलतल लाग्छ मलाई । नर्सिङ चोकदेखि स्याउली बजारसम्म पिचको ग्र्याभ्लिङ सकेको भोलिपल्ट चालीस लाख रकम निकासा गर्न पहिल्यै दुई लाख घुस ख्वाउनु पर्यो ।

पैसा निकासा भाको भोलिपल्ट देखि राजनीतिक पार्टीका नेताकार्यकर्तालाई खाममा राखेर पैसाको प्रसाद दिदै हैरान । माथीदेखि तलसम्म घुस नख्वाइ कुनै काम हुदैन । आउने चुनावमा समानुपातिकमा परेका छन भुपु उपप्रधानमन्त्री । चुनावमा उठे भने हार्छनरे अनि समानुपातिकबाट उठे । यिन्ले म सग पैसा मागे ।

मैले ” कताबाट दिनु हजुर सडक बनाउन निकास भाको रकम यसरी बाड्न थाले भने कसरी सडक पिच गर्नुर !”  भने ।

अलकत्राको मात्रा घटाउनु । सय द्रम कम राख्नु त्यस्को रकम मलाई दिनु उनले भने ।

देशको उपप्रधानमन्त्री भएको मान्छेत यति भ्रष्टाचारी छ भने म जाबो के हुर !

मैले पनि दिए सय डरम बराबरको पैसा ।

तिन्ले सय डरम बराबरको अलकत्राको पैसा लिएर स्कर्पियो गाडी किने। बाँकी पैसा पनि मलाई नै तिर्ने जिम्मेवारी दिए । नेता भन्दा ठेकेदार इमान्दार बन्नु जरुरत छ यो देशमा । उन्ले भने जस्तो सय डरम अलकत्रा कम राखेर पिच गरे भने भोलिपल्टै पिच उप्किन्छ अनि गालि त ती नेता कार्यकर्ताले होइन मैले खान्छु ।

यो कुरा सोच्दै चिसो बियर तान्दै थिए। मन्दीरा आइपुगी

” साब कस्तो लाग्यो त मृगको सुकुटि आज त मेरै हातले बनाको”

” गज्जब मीठो बनाइछौ मन्दिरा ”

” हिजो अस्ति जस्तो हसीलो देखिनुहुन्ननी किन केही गडबडी ?

” ठिकै छु ” मैले भने ।

” बाहिर ठिक भएर केही हुन्न भित्र चै ठिक हुनुपर्छ साब?”

” पुरुषहरु भित्र जे छ बाहिर त्यही देखाउछन ”

” महिला !! भित्र महिला बाहिर सुकिला “? त्यही भन्न खोज्नुभाको हो र साब “?

मन्दिराका कुरा सुनेर म हासे एक्छिन । केहि बेर सोचे। के भनेकी होली मन्दिराले भन्दै । भित्र महिला बाहिर सुकिला। महिलाको दुई शब्दमा उस्ले परिभाषा गरि । सबै यस्तै कहाँ हुन्छनर ! फेरि उ आफै पनि त महिला हो नि ।

भोलिपल्ट बिहानै ठेक्काको प्रसाद भनेर खाममा हालेर सिडियो , डिएसपि, सहायक सिडियो, कर्णेल, जिल्ला न्यायाधीश , स्थानीय बिकास अधिकारी र करका प्रमुखलाइ खाम थमाउदै हिडे । पैसा कमाउनुलाइ पैसा खर्च गर्नुपर्छ त्यो मलाई थाहा छ । ठेक्का पार्नु देखि काम गरेको रकम निकासी गर्न समेत घुस ख्वाउनु परेसी अनि ठेकेदारले काम कसरी राम्रो गरोस । मलाई चित्त नबुझेको कुरो चै के हो भने हामीले चै ठेक्काको नाउँमा ज्यामी झै श्रमको ज्यावल समाउन पर्ने तर ठुलो बडाहरु चै सधैं ठेक्काको नाउँमा बिना श्रम हामीलाई सोसिरहने ?

यो देशमा बिना श्रम धनी हुने मान्छेलाइ पापी भन्छु म । यस्तै हुदोरहेछ र पो दश किलोमीटर पिच गर्न दस बर्ष लाग्ने । बेकारमा जनतालाई सास्ती कति धुलो मैलो फोहोर निल्दै हिडुन तिन्ले।

” यस्ता कुरा त सरकारले बुझ्नु नि है” भनेर मन्दिरा भित्र आलु फ्राइ लिन गै । म चुपचापले चिसो बियर पिइरहेछु।

” रेस्टुरेन्ट जग्गा दलालका पैसा र ठेकेदारको कमाइले चलेका छन। जग्गा किनबेच घट्यो भने रेस्टुरेन्टहरु सुक्खा देखेको छु मैले हैनत मन्दिरा” !

आलुको कवाफ चपाउदै म फेरि मन्दिरालाई दुख शेयर गर्न थाले । बोल्दा हिन्दी भाषाको टाेन प्रष्ट आउथ्यो मन्दिराको बोलिमा । तर मीठो सुनिन्छ उस्ले नेपाली बोल्दा । मोटो देखेपछि फोहोरमा घस्रेर हिड्ने चिप्ले किरा पनि राम्रो देखिन्छन ।

बैँसले भरिएकी तरुनी फूल हो मन्दिरा । बियरले मात्तियका अल्दारे केटाहरुले जथाभावी बोले भने उ सात्ताले खान्थी । केटाहरु चुपचाप लाग्थे । बियरसगै मन्दिराको अनुहारको सुन्दरता पिउथे आउने ग्राहकहरु । आजकल बियर पिउनु फेशेनेबल बन्नु हो रे ।

बियर र चुरोट पिउनु सामान्य लाग्छ कलेजका केटीहरुलाइ ।

म यत्रो मेहेनत गर्छु । दुई बोतल बियर पिउन सोच्नुपर्ने हुन्छ। यिन्का कमाइ धमाइ पनि छैन कसरी खर्च गर्छन होला भनेर गमिन्थे । एक बोतल मागे भने दुई बोतल ल्याउछे मन्दिरा। अनि तिमी पनि पिउन भन्यो भने अहिले काममा ब्यस्त छु भन्छे र भागिहाल्छे । मैले तीन बोतल पिए पछि बल्ल म सग पिउन आउछे उ । म चुपचापले उस्ले बियर पिएको हेरिरहन्छु । दुई बोतल बियर उ बीस मिनेटमै रित्याइदिन्छे । उसलाई अलिकति बियर लागेपछि म उस्का अन्तरङ कुराहरू खोतल्ने प्रयास गर्छु। काम गर्ने अरु केटीहरु मन्दिरा सग धेरै डर मान्थे। पिउदै गएसी उस्ले बोल्ने उस्का आफ्ना निजि कुराहरू सुनेर म आनन्द लिन थाल्थे । म सँग ब्यागमा श्रमिकलाइ बाड्ने झोलाभरी पैसा हुन्थ्यो । रेस्टुरेन्ट छिरेपछि पैसाको मोटो ब्याग म उसैलाई काउन्टरमा राख्न दिन्छु । रेस्टुरेन्टमा आउने अरु ग्राहकसँग बसेर बियर पियको मैले आजसम्म देखेको छैन मन्दिरालाइ । यो मानेमा म अलि खुशी नै छु ।

म नभएको बेलामा पिउछेकी के थाहा !

कहिलेकाही यो प्रश्नले मलाई मनमा घोचिरहन्थ्यो । आजसम्म मैले उसलाई सोधपुछ गरेको पनि छैन यो बारेमा । म जस्तै अरु पनि ग्राहक छन । उस्को मदिरालयमा आउने हरेक ग्राहकले आशा राख्ने त्यही कुरा हो कि ” मन्दिरा म सग बसेर बियर पिवोस “।

” मन्दिरमा गएपछि देउतासँग बसेर सेल्फी खिच्न पाइन्छ भने मदिरालयमा आउँदा साहुनी सँग बसेर किन पिउन नपाउने ह ?”

एकजना अधबैंसे केटामान्छेलाई रक्सी लागेछ। चिच्याउन थाल्यो । बक बक गर्दैथ्यो । मन्दिराले च्याप समातेर बाहिर निकाल्दिइ। उ पनि भाग्यो । ” बिल नतिरी गयोत” मैले भने । ” छोडनुस त्यो हुतिहारा भोलि फेरि आइहाल्छ नि ”

रक्सी पिउनेहरु के सबै हुतिहारा हुन र ?

रक्सी त मन्दिरा पनि पिउछे इन्दिरा पनि पिउछे। मनमा असख्य प्रस्नहरु उठे । यो कुरा मैले मन्दिरालाइ शेयर गरिन ।आखिर किन गर्नुर । गरेर पो के फाइदा । चुचुरो आफ्नै । पखेटा आफ्नै। गन्तव्य आफ्नै। कर्म आफ्नै । भाग्य आफ्नै । आखिर नपिउने पो को छर यो दुनियाँमा । भागवत भन्दै हिड्ने पाण्डे पुरोहितले सिम्साझै खोल्चामा छादेको देखेको छु मैले । कस्ले के गर्यो भनेर चियो चर्चा गर्ने बानी छोडेर एक कदम अगाडि बढनु पर्छ ।

“त्यति राम्री बैशले भरियकी साहुनीसँग बसेर बियर तन्काउनु कम्ती मजा आउदैन ! तर मान्दिन मोरी “!

एकजना भुपु सांसदले दुखेसो पोख्दै थिए मसँग । तिन्को दुखमा म भित्र भित्रै खुशी मनाइरहेको थिए । “आहा ! मन्दिरा त मसँग मात्रै पो बसेरपो बियर पिउदी रहेछे ” यो सबै लाहुरेहरुको बस्ती हो । यहाँ नेपाली संस्कृति भन्दा बिदेशी रहनसहनको बोलवाला चल्छ। यहाँ पैसाको दुख छैन। यहाँ गरिबी पनि छैन। यो जिल्लामा जो कर्मचारी केन्द्रबाट खटिएर आउछन उनीहरू राम्रै कमाइ लिएर जान्छन । यहाँ जातभात र छुवाछूतको ब्यवहार पनि छैन। यहाँ महिला पुरुष जस्ता छन र पुरुष महिला जस्ता छन । यहाँ स्त्रीको आदेश चल्छ । यहाँ स्त्रीले दिउसै बियर पिउदा पनि पुरुषले किन पियकी भन्न सक्तैन । यो स्वतन्त्रताको राजधानी हो । यहाँ पुरुषलाई बिहे गरेर ल्याउछिन स्त्रीले । यहाँ स्त्रीले बाहिरको काम गर्छन । पुरुष महिलाको आदेशमा लाहुरेमा भर्ती हुन्छन ।

यहाँ स्त्रीलाइ गाली गलौज गर्न पाइन्न । माया गर्न पाइन्छ । सम्मान गर्न पाइन्छ । यहाँ स्त्रीको आदेश चल्छ । पुरुषले चाहेर कुनै युवतीलाई प्रेम प्रस्ताव राख्न पाँउदैन तर स्त्रीले चाहिन भने सिधै ओछ्यानमा । यहाँ पुरुषहरू अपहरणमा पर्छन कहिलेकाही तर सकुशल फिर्ता हुन्छन । यहाँ छोरी जन्मिदा खुशी मनाइन्छ ।

मन्दिरा तिनै परिवारकी एक सदस्य हुन जुन घरमा नारीको हैकम चल्छ । यो मदिरालय उस्को निजि हो । उस्का बाबुआमा यतिबेला युकेमा छन । ईन्डियन आर्मीबाट अवकाश प्राप्त पछि युके सेकुरीटि अफिसरको जागिर पाएर उतै बसेका । मन्दीरा सन्तानको नाउँमा एक्ली छोरी हो । उ स्वतन्त्र छे ।

सडकको काम लगभग सकिन लाग्यो। मैले सोचेभन्दा छिटो समयमा काम भयो । सडकको दायाँबायाँ पेटी बाध्ने र कुलेसो ढलान गर्ने काम मात्रै बाकी थियो । करिब चार महिना भयो म मन्दिराको मदिरालयमा आउने जाने गर्न थालेको । पाँच/छ जना नारीले चलाएको यो मदिरालयमा कहिले पनि झैझगडा देखिन मैले । मानिसहरू आउथे चाहेको कुरा खान्थे जान्थे।

मन्दिरा र म प्रायः सगै बियर पिउथ्यौ तर कहिले पनि गहिराईमा पुगेर कुराहरू भएनन। एक्दिन मैले सोचे। अरु दुई बोतल बियर बढी पिइ भने मन्दिराले आफू भित्रको सबै कुराहरू मलाई बताउछे । मेरो प्लान अनुसारको काम भयो।

मैले भने -” मन्दिरा आज मेरो ठेक्काको काम सप्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलले निर्माण सम्पन्नको कागज दिएको छ । म खुशी छु । आज हामी दुवै! बियर पियर मात्तिनै है !!” यति लामो संगत । मन्दिराले पनि नाइ भन्न सकिन । दिउँसो उ कलेजबाट आइ । सबलाइ अर्हाउनु पर्ने कामहरू अराइ । हामी दुई बियर पिउन बस्यौं । मध्यान्हको तीन बजेको हुदोहो । बियर पिउदै गयौ । दुई बोतल बियर पिएपछी मन्दिरालाइ अलिक लाग्दै गयो । तेस्रो बोतलको बिर्को खोल्दै उस्ले भनी –

” तिम्लाइ स्वास्नीको याद आउदैन “?

” बिहेनै नगरीकन कसरी स्वास्नीको याद आउनु”

” ए साच्चै तिम्लेत बिहे नै पो गरेका छैनौ है ! ”

” छैन , हतारले बिहे गरेर फुर्सदमा पछुताउछन पुरुष । त्यसैले बिहे गर्न पनि डर लाग्छ मलाई मन्दिरा ”

” हाहाहाहाहा …….

मन्दिरा बेजोडले हासी । किन हासी । दुख दबाएर हासी कि खुशीले हासी । उ मीठो मादमा थिइ । उ बेफिक्री थिइ। उ निसन्कोच थिइ । उस्को मुहारमा कुनै लज्जा थिएन । उ भित्र कुनै पाप देखिन मैले । मनभित्र अँध्यारो नहुनेहरु पल पल बिस्मृतिमा जान्छन र हास्छन जुनेली हासो । जुनकीरी जस्तै स्वतन्त्र पखेटा लिएर जन्मिन्छन नारी र उड्न खोज्छन । तर पुरुष नारीको पखेटा काटिदिन्छन । माथी आकाश छुने चङ्गाको धागो बिचमै चुडालिदिन्छ पुरुष । चङ्गा बिच आकाश बाट नै झर्छ धरामा । जति स्वतन्त्रता एउटा पुरुषलाई छ उतिनै स्वतन्त्रता किन भएन नारीलाइ … मेरो कुरा सुनिरहेकी मन्दिरा एक्कासि उठेर भान्सामा गै र भेज पकौडा ल्याइ ।

मन्दिराको खुट्टा अलिक लरखराएको देखे मैले । हिन्दी भाषाको लवजमा उस्ले बोलेको नेपाली सुन्दा मीठो लाग्थ्यो । दिल्ली महिपालपुरको रङ्गपुरी रोडमा उस्को बाल्यकाल बितेको रहेछ ।

” तिमी बिहे कहिले गर्छ्यौ मन्दिरा “?

” खोइ किन पो हो मलाई केटा मान्छे प्रती घृणा लाग्छ ”

” म सग बिहे गर्छ्यौत “? पाल्न सकिहाल्छु क्यारे “?

” हाम्रो यहाँत केटीले सोध्छन म सग बिहे गर्छौ भनेर ”

” जस्ले सोधे पनि आखिर कुरोत एकै हो बिहे गर्ने”?

” घर ज्वाइँ बस्नुपर्छ मान्छौ ?

” यो त पुरुषको स्वतन्त्रता हरण भयो नि फेरि “?

” पुरुषले बिहे गरि लैजादा पनित महिलाको स्वतन्त्रता हरण भयो नि फेरि होइनर ?

” तिमीलाई सबैभन्दा प्यारो चिज के हो मन्दिरा ” ?

” म र म सगै बाचिरहेको मेरो अहम / मेरो स्वतन्त्रता ”

रात परेपछि हामी छुट्टीयौ । म कोठामा फर्किए। बियरको नसा उत्रिएको थिएन । ओछ्यान चिसो थियो । भोलि कतै जानू थिएन। निर्धक्क सुत्ने बिचार गरे । तर खोइ किन हो निन्द्रा चै लागेन। मन्दिराको अनुहार आँखा भरी आइरह्यो । यतिका समय देखि सगै बियर पिउने साथी उ । म ठेकेदार उ रेस्टुरेन्टको मालिक्नी । कहिलेकाही पैसा नहुदा उ मलाई फ्रीमा बियर र खाजा ख्वाउथी तर पछि पैसा दिदा लिन्नथी ।

बैँस र जवानीका कुरा यौन अनि उत्ताउलो कुरा कहिले गरेनौ हामीले । सगै बसी बियर पिउनु भनेको सेक्स गर्न अनुमती दिएको पनित होइननि।

अक्सर हामी पुरुष केटी मान्छे सग बियर खाएपछि ” ल यो केटी म सग फसि ” भन्ने सपना देख्न थाल्छौ । मन्दिरा साच्चै कति स्वतन्त्र छे है । उ आफ्नो ढंगले बाचेकी छे । उ पुरुषको आँखामा आँखा जुधाएर कुरा गर्छे । कसैले नराम्रो नजरले हेर्यो भने थप्पड हान्छे । तथापि उस्को यो रेस्टुरेन्ट अर्थात ” मन्दिरा मदिरालय ” गज्जबले चलेको छ । खोइ कसरी पो चलेको छ म तीन छक पो पर्छु कहिलेकाही त मलाई मन्दिराले भ्रममा पो राखेकी छे कि भन्ने ।

भट्टीमा यौवन मात्रै बिक्छ रक्सी होइन भन्ने कुरा कसरी पत्याउने अब । त्यहाँ काम गर्ने सबै महिला छन । मैले एकदिन मन्दिरालाइ सोधेको थिए ” तिम्रो मदिरालयमा सबै महिला कर्मचारी मात्रै किन ” जवाफ कडा थियो उस्को –

” पुरुष कर्मचारी भएको रेस्टुरेन्टमा पुरुषहरु खानै आउदैननि ”

हुन पनि हो । के छ त्यस्तो । महिला र पुरुष बिच नजिक हुने केमिस्ट्री ? मन्दिराले मलाई मन पराइकी पराइन त्यो दैव जानुन। तर मैले मन्दिरालाइ मन पाराएछु । आज उस्लाइ सम्झिदा पनि जिउ तातो भएर आयो । निन्द्रा लागेन । बिएर पिउदा उस्ले भित्री कुरा खोल्छेकी भनेर आशा गरेको किन भन्थी । चलाख पो छे। उ होसमा छे । ठेक्का गर्नी क्रममा मैले कति रक्सी खाने तास खेल्ने स्त्री भेटेको छु । ती कति गति छाडा उत्ताउला फोहोर बोल्छन। सुन्ने पुरुषलाइ पो लाज । तर मन्दिरा अर्कै पाराकि छे ।

जिल्ला स्तिथ सडक डिभिजन कार्यलयका बरिष्ठ इन्जिनियर र स्थानीय विकास अधिकारीको रोहवरमा सडक निर्माणको काम सप्पन्न भएको सम्झौता पत्रमा हस्ताक्षर भएको भोलिपल्ट म काठमाडौं आए ।

मन्दिरा कलेजबाट आएकी पनि रैनछ । उधारो केहि बाँकी थिएन । मैले उस्लाइ भेटेर आउनुपर्ने कुनै कारण पनि थिएन । म आए । म आउँदा त्यहाँको हरीयाली , त्यहाँको चिसो बतास , त्यहाँको पहाडि आनन्द र त्यहाँका मानिसले उपभोग गर्ने स्वतन्त्रता आखाभरी सारेर ल्याए। जति महिना म त्यहाँ बसे। मैले आफ्नो पुरुष अस्मिता डगमगाइन । अस्मिता के स्त्रीको मात्रै हुन्छर ! हामी पुरुष चै गन्हाउने बोका मात्रै हौर ?

म पुरुष त्यो माथी पनि ठेकेदार, सबै पुरुष खराब मात्रै आउछन भन्ने स्थानीयले गुनासो गर्थे म सग । म चोखो फर्किए । मैले कसैलाई दुख दिइन। कसैको श्रम! पनि शोषण गरिन। कसैको चित्त पनि दुखाइन । जम्मा जम्मी नौ महिना बसे म त्यो पहाडी सहरमा । म जादा रित्तो थिए । र फर्किदा पनि रित्तै फर्किए। एउटा ठेकेदारले लुटेर लान्छ भन्ने जनताको भ्रमलाइ मैले चोख्याउनु पनि थियो । परिस्थिति पनि त्यस्तै पर्यो। राजनैतिक पार्टीका कार्यक्रम परिरहन्थ्यो । चन्दा दिदा दिदा हालत खराब भैसकेको थियो । अलिकति कमाएको पैसा बियर पिएर सके। मलाई घाटा पनि छैन । नाफा पनि छैन। मन्दिराले बियर पिउन साथ दिई बस यति मात्रै हो । कोहि साथी पनि कमाइन र कोहि शत्रु पनि कमाइन । जस्तो गाको त्यस्तै फर्किए । मलाई न नाफा न नोक्सान ।

दस बर्ष पछि म पुन त्यहा गए । एउटा खानेपानी योजनाको ठेक्का परेको थियो मलाई । त्यही बाटो भएर गए जाहा मन्दिराको मदिरालय थियो । पसे । बियर पिउने लत छुटिसकेको थियो ।

साइनबोर्ड त्यही थियो । वातावरण उस्तै थियो । मात्रै फरक थियो मन्दिराको मुहारको चमक । त्यो फुर्ती, त्यो यौवन, त्यो लाली, त्यो ताकत, ती हाउभाउ, त्यो चंचलता केही बाँकी थिएन उसमा। थियो त केवल एउटा उराठ ओठ जस्लाइ कतिले जुठो हाले होलान् अनुमान लगाउन सकिन्थ्यो । रेस्टुरेन्टमा थुप्रै बच्चाहरु थिए ।

एउटा सानो केटो मन्दिराको मुहार सग मिल्दोजुल्दो देखे। यता आउ भने । बालक नजिक आयो । नाम सोधे । उस्को नाम मनिष रहेछ । मन्दिरा बियर लिएर आइ। मैले पिउन छोडेको दश बर्ष भो भने ।

” बिहे गर्यौ मन्दिरा ?”

” छैन ”

” अनि यो बाबू कस्को ?”

” मेरो ”

” कसरी ? ”

” स्वतन्त्रताको उपयोग ”

– मलाई घृणा लाग्यो उस्को स्वतन्त्रता प्रति । स्वतन्त्रता भनेको स्व्च्छन्दतात थिएन कतै ? मलाई अब चै सङ्खा लाग्यो। तर खोइ के सोचेकी छ मन्दिराले जिन्दगीलाई। त्यसपछि म त्यो “मदिरालय” मा कहिले पनि फर्केर गइन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट