कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु-Sutra News

कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु

शनिबार, २७ पौस २०८१

शनिबार, २७ पौस २०८१

काठमाडौं । पाकिस्तानको क्वेटाको सान्जदी क्षेत्रमा रहेको कोइला खानीमा ग्यास विष्फोट हुँदा चार खानी कामदारको मृत्यु भएको छ । फसेका आठ जनाको उद्धार गर्ने प्रयास जारी रहेको एआरवाई न्यूजले जनाएको छ ।



एआरवाई न्यूजका अनुसार २७ घण्टाभन्दा बढी समयदेखि उद्धार कार्य जारी रहेको छ । अधिकारीहरूले फसेका खानीमा पुग्न अथक प्रयास गरिरहेका छन् ।

प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए) ले खानीबाट थप तीन शव निकालिएको पुष्टि गरेसँगै बरामद हुने शवको कुल सङ्ख्या चार पुगेको छ ।

घटना बिहीबार स्थानीय समय अनुसार ४ः०० बजे भएको थियो, जब ग्यास विस्फोटको कारण कोइला खानीको एक भाग भत्किएको थियो, जसमा १२ जना कामदार भित्र फसेका थिए ।

एआरवाई न्यूजले रिपोर्ट गरेको अनुसार फसेका कामदारहरू लगभग चार हजार ३०० फिट जमिनमुनि रहेको विश्वास गरिन्छ । अहिलेसम्म बरामद गरिएका शवहरू तीन हजार फिट गहिराइमा थिए । विस्फोटका कारण खानी भत्किएको थियो र उद्धार टोलीहरूले खानीमा पुग्न वैकल्पिक मार्ग निर्माण गर्न काम गरिरहेका छन् ।

एआरवाई न्यूजका अनुसार चुनौतीपूर्ण मौसमका कारण सहयोगमा जटिलता आएको छ ।

यस्तै एउटा घटना मार्च सन् २०२४ मा बलुचिस्तानको हरनाईमा रहेको कोइला खानीमा १८ जना खानीमा फसेको थियो । उद्धारकर्ताहरूले सफलतापूर्वक १२ शवहरू निकाले र छ जना घाइतेहरूलाई उद्धार गरियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट