काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगको मुद्दामा जिल्ला अदालत काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति रवि लामिछानेको बयान सुरु भएको छ । उक्त बयान न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सुरु भएको छ ।
बिहीबार जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएपछि लामिछानेलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएको थियो । सोही अनुसार लामिछाने आज बिहान काठमाडौं जिल्ला अदालत उपस्थित भएका हुन् ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुन विपरीत ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो मागदाबी गरेर मुद्दा दायर गरेको हो ।