काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । स्थानिय सरकारले हरेक समस्याहरुमा संघ सरकारलाई नै भन्नु परेको प्रसंगमा उनले प्रदेश सरकारको भूमिका पर्याप्त हुन नसकेको बताएका छन् ।
आज बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगका भेटमा उनले उक्त कुरा उठाएका हुन् ।
‘आफूले संघबाट अधिकार लिन सक्ने र स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको हो । अहिले यो अवस्थाको आभाष हुन सकेन ।’ उनले भने, ‘स्थानीय सरकारका समस्या संघ सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ? सुकुम्बासीको समस्या आउँदा पनि संघ सरकार सक्रिय छ । नदी प्रणालीको सुधार तथा पुनःस्थापनाका विषयमा पनि संघ सरकारकै चासो देखिन्छ । यस्ता विषयमा प्रदेश सरकार नदेखिने ठाउँमा भएपछि यसको के अस्तित्व रहन्छ ? स्थानीय तहले गर्ने काममा त प्रदेश सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने हो । त्यसो हुन सकेन ।’
स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको समेत मेयर बालेनले बताएका छन् । भेटमा उपमेयर सुनिता डंगोलको पनि सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख सचिव डा. लम्सालले, प्रदेश र स्थानीय सरकारका बिचमा राजनीतिक र प्रशासनिक संवाद हुन नसकेका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गरे ।