काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासत पठाइएको छ । जिल्ला अदालत काठमाडौंमा आइतबार बयान भए पनि थुनछेक बहस नसकिएकाले लामिछानेलाई हिरासतमा पठाइएको हो।
जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सोमबार पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो । आइतबार बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो ।
लामिछानेको बयान सके पनि सरकारी पक्षले बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् ।
काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा लामिछानेसहित ३९ जनाविरूद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दर्ता भएको थियो।
सुर्यदर्शन सहकारी, पोखराको अपचलन प्रकरणमा बिहीबार मात्रै जिल्ला अदालत कास्कीले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । उनी पोखराबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । यद्यपि, फेरि हिरासत पुगे ।