काठमाडौं । झण्डै दुई तिहाई हाराहारीको बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउन थालेको भन्दै सत्तारुढ नेपाली कांग्रेसभित्रैबाट विरोध सुरु हुन थालेको छ । अध्यादेश जारी गर्ने सरकारको कदमलाई लिएर कांग्रेस नेताहरुले सार्वजनिकरुपमै आलोचना गर्न थालेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षीय नेता एनपी साउदले नै सरकार गलत बाटो हिँडेको भन्दै विरोध जनाएका छन् । आइतबार रिपोर्टस क्बलको लुम्बिनी प्रदेश कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साउदले सरकारको शैलीले स्थायित्व दिन नसक्ने बताए ।
संसद छलेर अध्यादेशमार्फत अगाडि बढ्दा जनतामा निराशा र प्रश्न उत्पन्न भएको उनको भनाई छ । उनले अध्ययादेशमार्फत ल्याइएका विषयवस्तुमा बिपक्षी दलको पनि समर्थन हुने खालका विषय भएपनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।
साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरु नगरेको गुनासो गरे । दुई दल बिचको न्युनतम साझा सहमती कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए ।
नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए । संविधान संसोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनलेअब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संशाेधन गर्ने बेला आएको धारणा राखे ।
साउदले जस्तै कांग्रेसका अन्य नेताले पनि अध्यादेशमार्फत कानुन बनाउने निर्णयको विरोध गर्दै आएका छन् ।
पुस १४ मा सहकारी ऐन संशोधन गर्न अध्यादेश जारी गरेको सरकारले शुक्रबार थप ३ वटा अध्यादेश ल्याउन सिफारिस गरेको छ । विपक्षीको विरोधलाई बेवास्ता गर्दै सरकाले नेपाल ऐन संशोधन अध्यादेश, भूमिसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश र लगानीसम्बन्धी कानुन संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।