काठमाडौं । श्रमिकको न्यूनतम पारिश्रमिक पुनरावलोकन तयारी थालिएको छ । शुक्रबार बसेको केन्द्रीय श्रम सल्लाहकार परिषद् बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्य थप व्यवस्थित बनाइ पुनरावलोकनको काम अगाडि बढाउने निर्णय गरेको हो ।
परिषद् अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गरेका थिए । यस बैठकले सामाजिक सुरक्षा दायरा बढाउने सन्दर्भमा तयारी गर्ने निर्णय समेत गरेको मन्त्रालयले जनाएको छ । सरकारले हरेक दुईरदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्ने गरेको छ ।
अहिले १ साउन २०८० मा निर्धारण भएको पारिश्रमिक लागु छ । त्यसबेला सरकारले न्यूनतम पारिश्रमिक १७ हजार ३ सय पुर्याएको थियो । यसमध्ये पनि कतिपय प्रतिष्ठानबाट न्यूनतम पारिश्रमिक नदिइएको गुनासो भने आइरहेको छ । श्रम ऐन २०७४ को प्रावधान अनुसार न्यूनतम पारिश्रमिक तोक्ने गरिन्छ ।
सरकारले सामान्यतया चिया बगान बाहेक श्रमिकको एकमुष्ट पारिश्रमिक तोक्ने गर्छ । अहिले १० हजार ८ सय २० रुपैयाँ न्यूनतम पारिश्रमिक र ६ हजार ४ सय ८० रुपैयाँ महँगी भत्ता तोकिएको छ । हालको व्यवस्था अनुसार दैनिक पारिश्रमिक ६ सय ६८ रुपैयाँ न्यूनतम तोकिएको छ ।