लम्बियो रविको हिरासत बसाई-Sutra News

लम्बियो रविको हिरासत बसाई

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अझै केही दिन हिरासतमा रहने भएका छन् । सोमबार चलेको थुनछेक बहस नसकिएसँगै काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।



अदालतले लामिछानेलाई बुधबार मात्रै उपस्थित गराउन प्रहरीलाई भनेको छ । मंगलबार सार्वजनिक बिदा भएका कारण उनलाई पर्सी अर्थात् बुधबार उपस्थित गराउन भनेको हो ।

यसअघि आइतबार पनि अदालतले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो ।

सोमबार सरकारी वकिल र जाहेरवालाका तर्फबाट मात्र बहस भएको छ । सोमबार ९ जना सरकारी वकिलहरूले बहस गरेका थिए। सहकारी पीडितका तर्फबाट सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठीले बहस गरेका थिए ।

बुधबार रवि पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्। उनीहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन्।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग गरेको आरोपमा रविसहित ३९विरुद्ध मुद्दा उजुरी परेको छ । जहाँ साढे ५ हजार बचतकर्ताको १ अर्ब १९ करोड रूपैयाँ अपचलन भएकाे सरकारी छानबिन देखाएको छ । लामिछानेको हकमा मात्रै सरकारी वकिलले पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ बिगो मागदाबी गरेको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई बिहीबार मात्रै ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशसँगै लामिछाने ८४ दिनपछि हिरासतमुक्त भएका थिए ।

तर, काठमाडौंमा आएसँगै उनी पुनः हिरासतमा पुगे ।

लामिछानेविरुद्ध रुपन्देहीको सुप्रिम सहकारी, चितवनको साहारा चितवन र पर्साको सानो पाइला सहकारीमा पनि ठगी आरोपमा मुद्दा दर्ताको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट