पृथ्वीनारायणको नाममा कोष र ऐतिहासिक संग्रहालयको घोषणा-Sutra News

पृथ्वीनारायणको नाममा कोष र ऐतिहासिक संग्रहालयको घोषणा

सोमबार, २९ पौस २०८१

सोमबार, २९ पौस २०८१

काठमाडाैं । हरेक पौष २७ गते र यसको वरपर पृथ्वीनारायण शाह र नेपालको एकीकरणमा उनले दिएको योगदानको चर्चा हुने गर्छ । केहिले उनको विरोध पनि गर्छन । पृथ्वीलाई मूल रुपमा देवत्वकरण गर्ने र केहि राक्षसीकरण गर्ने प्रवृत्ति हावी देखिन्छ ।



पृथ्वी जयन्तीका अवसरमा काठमाडौं स्कुल अफ लको सभाहलमा कानून अध्ययनरत विद्यार्थीहरुले गरेको कार्यक्रम भने अलि फरक थियो । सो कार्यक्रमले भावनाभन्दा माथि उठेर तथ्यमा टेकेर पृथ्वीनारायण शाहको प्रशंसा र आलोचना गरिनुपर्छ भन्ने सन्देश दिएको थियो ।

पृथ्वीको चर्चा गरेर मात्र नहुने, विशेष अभियान नै चाल्नुपर्नेमा सहभागीहरु सहमत भए । अधिवक्ता समेत रहेका मधेश प्रदेशका पूर्व प्रमुख डा. राजेश अहिराजले पृथ्वी नारायणको नाममा स्मृति छात्रवृत्ति कोष खडा गर्ने प्रस्तावसँगै रु १ लाख १ हजार रुपैयाँ आफुले दिने घोषणा गरे ।

पूर्व महान्याधिवक्ता प्रा. डा. युवराज संग्रौलाले पृथ्वीसहित यलम्बर, मानदेव, अंशुवर्मा लगायत नेपाल राज्यलाई स्थापित गर्न योगदान दिएकाहरुको शालिकसहितको संग्रहालय निर्माण गरी त्यसलाई ऐतिहासिक प्रवित्र स्थलका रुपमा विकास गर्न प्रस्ताव गरे ।

यी दुबै प्रस्ताव पारित भयो र कानुन अध्ययनरत विद्यार्थीहरुको संस्था सामाजिक न्याय विद्यार्थी निकेतनले यसलाई कार्यान्वयनमा लैजान पहल गर्ने प्रतिवद्धता जनायो ।

कार्यक्रममा प्रा.डा. संग्रौलाले विदेशीले लेखिदिएको इतिहासको चस्माले पृथ्वीको योगदान र नेपालको इतिहासलाईलाई न्याय गर्न नसक्ने बताए । पृथ्वीले जनतासँग मिलेर उपनिवेशविरुद्ध लडेको भन्दै उनले पृथ्वीले राजतन्त्र नभई नागरिकतन्त्र स्थापना गरेको दाबी गरे । दरबारका केहि पक्षले यो देश आफ्नो पुर्खाको बिर्ता हो भन्ने प्रमाणित गर्न पृथ्वीको प्रशस्तीगान मात्र गाएर पृथ्वीलाई विवादित गर्नुका साथै नेपाली इतिहासमाथि नै गद्दारी गरेको उल्लेख गरे ।

उनले किराँती राजा यलम्बरले राज्य ब्यवस्थाको निर्माण गरेको, मानदेवले नेपालको पहिलो एकीकरण गरेको भन्दै आधुनिक नेपालका निर्माता पृथ्वीसँगै उनीहरुको समेत सम्मान हुनुपर्ने बताए ।

पूर्व प्रमुख डा. अहिराजले विदेशीहरुले पृथ्वीनारायणको अवमुल्यन हुनेगरी इतिहास लेखेको र हामी त्यसैको पछि लागेको भन्दै दुःख ब्यक्त गरे । “हाम्रा शासकले राज्य जोगाउन सकेनन, हाम्रो नाक काटियो भनी किर्तिपुरका जनताले इज्जत र प्रतिष्ठाको कुरा उठाएको विषयलाई विदेशीहरुले भौतिक रुपमै नाक काटिएको रुपमा प्रस्तुत गरे”, उनले भने ।

संस्कृतिविद तथा इतिहासका जानकार प्रा. डा. सोमप्रसाद खतिवडाले इतिहासको पुनर्लेखन गर्नुपर्नेमा जोड दिए । विदेशीले लेखिदिएको इतिहास नेपालको सबैभन्दा ठूलो कमजोरी भएको उनको भनाई छ । “इतिहास सही ढंगले नबुझी देश बन्दैन, संस्कृतिविना विकास हुँदेन”, उनले भने ।

कार्यक्रममा उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्की, अधिवक्ता सुरज बस्नेत लगायत कानून व्यवसायी, विद्यार्थी र पत्रकारहरुले समेत आफ्नो विचार राखेका थिए ।

अबका दिनमा पृथ्वीनारायण शाहको गहिरो खोज र अध्ययन गरी त्यसलाई वैज्ञानिक ढंगले चर्चा गर्ने कुरामा सबै एकमत देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट