लेखराजकाे गोप्य भिडियो भाइरल : एमालेभित्र पूर्वमाओवादीहरुलाई रुने अवस्था छ-Sutra News

लेखराजकाे गोप्य भिडियो भाइरल : एमालेभित्र पूर्वमाओवादीहरुलाई रुने अवस्था छ

मंगलबार, १ माघ २०८१

मंगलबार, १ माघ २०८१

काठमाडौं । नेकपा (एमाले)भित्र पूर्वमाओवादी नेताहरुको अवस्था निकै नाजुक भएको चर्चाका बिच पार्टी सचिव एवम् सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको एउटा भिडियो भाइरल बनेको छ । सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा भट्टले एमालेभित्र पूर्वमाओवादीहरु रुने अवस्थामा रहेको बताएका छन् ।



भिडियोमा भट्टले एमाले पार्टी अध्यक्ष स्वयंबाट पूर्वमाओवादी नेता तथा कार्यकर्तालाई निकै अप्ठ्यारोमा पारिरहेको बताएका छन् । विशेषगरी जनयुद्धको सन्दर्भमा एमाले नेतृत्वबाट व्यक्त हुने अभिव्यक्तिले पूर्वमाओवादीहरुलाई निकै असहज भइरहेको गुनासो भट्टको छ ।

“हामी मञ्चमा हुन्छौँ, कहिले अध्यक्ष (ओली) आतंककारी भनिदिनुहुन्छ हामीलाई, अपराधी, हत्यारा भनिदिनुहुन्छ”, उनले भनेका छन्, “तर हामी अहिले पनि गर्व गर्छौं क्या ! ‘जनयुद्ध’ नभएको भए आज केपी शर्मा ओलीले पनि त्यसरी बोल्न सक्नुहुन्थेन, त्यो पाउनुहुन्थेन ।”

भट्टले आफू कि अर्को पार्टी खोल्ने कि राजनीतिबाटै सन्यास लिने भन्ने प्रश्नमा उभिएको गुनासो गरेका छन् । एमालेभित्र हालकै अवस्थामा टिकिरहने स्थिति नभएको पनि उनको गुनासो छ ।

“या त मैले अन्य पार्टी खोल्नुपर्छ कि त सन्यास लिनुपर्छ, अहिले नै केपीसँग जुध्ने हो भने त समस्या आइहाल्छ”, उनले भनेका छन्, .“..खासगरी के भन्ने जिम्मेवार मान्छेले लेख्या लेख्यै छन्, म ठूलै अपराध गरेर यहाँ बस्न आए जस्तो लेखिरहन्छन् ।”

सार्वजनिक भिडियो उनको निवासमा खिचिएको हो । जुन उनीसँग कुराकानीको क्रममा एक जनाले गोप्यरुपमा खिचि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदिएका हुन् ।

एमाले केन्द्रीय समिति बैठकको विषयमा समेत समीक्षा भएको कारण सार्वजनिक भिडियो ताजा भएको अनुमान गर्न सकिन्छ । एमालेको केन्द्रीय समिति बैठक पुस तेस्रो साता २१ गतेदेखि २२ गतेसम्म बसेको थियो । जुन बैठककै बिचमा भट्टले एमाले परित्याग गरेको चर्चा सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उनकै गृहनगर कैलालीको गोदावरी नगरपालिकाबाट केहीले सामूहिकरुपमा एमाले परित्यागको घोषणा गरेका थिए । जुन घोषणासँगै भट्ट पनि एमालेबाट बाहिरिएको चर्चा सामाजिक सञ्जालमा भएको थियो ।

यद्यपि, भट्टको स्वकीय सचिवले लगत्तै उक्त चर्चाको खण्डन गरे । तर, पछिल्लो भिडियो सार्वजनिक भएसँगै एमालेभित्र पूर्वमाओवादी नेताहरुको अवस्था कस्तो रहेछ भन्ने छर्लङ्ग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट