काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको निर्वाचन मिति नजिकिएसंगै आकांक्षीहरुको नाम सार्वजनिक हुन थालेको छ । संगठनमा ३२ वर्षे उमेरहद लागु भएपछि पनि अध्यक्षमा दर्जन बढी आकांक्षी देखिएका छन् ।
मनोनयन दर्ता नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप बढेको छ । आकांक्षीहरु आफू निकटका नेतहरुसंगको भेटवार्तामा व्यस्त देखिन्छन् । उम्मेदवारी मनोनयन दर्ता ५ माघका लागि तय भएको छ ।
पहिलो पटक उमेरहद लागु भएसंगै संगठनमा काम गरिरहेका तर चर्चामा नरहेका पात्रहरु उम्मेदवारको आकांक्षी छन् । त्यसमा पनि पार्टी अध्यक्षदेखि शिर्ष नेताहरुको नाम जोडेर उम्मेदवारहरु सार्वजनिक भएका छन् । संगठनको निर्वाचनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्माको पक्षबाट अध्यक्षको आकांक्षीहरु सार्वजनिक भएका छन् ।
संगठनका नेताहरूका अनुसार अध्यक्षमा पर्वतका विजयप्रकाश सापकोटा, अछामका नवीन उपाध्याय, भोजपुरका हेमन्त राई, म्याग्दीका सुदीन पौडेल, रौतहटका उपदेश यादव सिन्धुपाल्चोकका श्याम रोकाको दाबेदारी छ ।
यादवलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी पक्षधर, पौडेललाई उपमहासचिव वर्षमान पुन पक्षधर, राईलाई उपमहासचिव जनार्दन शर्मा पक्षधरले अगाडि सारेका हुन् । भने अध्यक्ष प्रचण्ड पक्षधरहरूबाट अहिलेसम्म को हुने भन्ने अन्योलता रहेको देखिन्छ । प्रचण्ड पक्षधरबाट उपाध्याय, पौडेल, सापकोटा र रोकालगायतलाई अगाडि सारेका हुन् ।
यस अलावा क्रान्तिकारीमा अध्यक्षका आकांक्षी अरु पनि छन् । डोल्पाका योगेन्द्र बुढा, मधेश प्रदेशका विश्वमणि थापा र हाल क्रान्तिकारीको उपमहासचिव रहेकी तिर्सना हमाल पनि अध्यक्षका आकांक्षी छन् ।
रोशन थापा मगर, गोविन्द बानियाँ र सञ्जयकुमार महतो पनि क्रान्तिकारीको नेतृत्वका आकांक्षी देखिएका छन् । नेतृत्वका आकांक्षीहरूले आन्तरिक तयारी र नेताहरूसँगको संवाद दुवै बढाएका छन् ।
ममता अधिकारी, विराज थापा र रमेश आचार्य पनि नेतृत्वका आकांक्षी हुन् । तर, विधानका कारणले केही आकांक्षी उम्मेदवार नै हुन नपाउने अवस्थासमेत रहेको छ ।
नेताहरूका अनुसार विधानले पदाधिकारी लड्न एक कार्यकाल कार्यसमिति वा सचिवालय सदस्य हुनुपर्ने र अध्यक्ष लड्न एक कार्यकाल पदाधिकारी हुनुपर्ने भनेको छ ।