काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)नेपाललाई पाखा पन्छाउँदै तराई मधेश केन्द्रित दलहरुले मोर्चा बनाएका छन् । मंगलबार मधेश केन्द्रीत ६ दलले बेग्लै मोर्चा गठन गरेका हुन् ।
नेता हृदेयश त्रिपाठीको पहलमा मंगलबार मधेश केन्द्रीत ६ दल काठमाडौंको धुम्बाराहीमा छलफलमा जुटेका थिए । जुन बैठकले मोर्चाको खाका, उद्देश्य र साझा एजेन्डा तय गरेको छ ।
जनप्रगतिशील पार्टीका उपाध्यक्ष शिवजी यादवले बताएअनुसार दुई सातापछि बस्ने मोर्चाको बैठकले बाँकी विषय टुंग्याउने छ । उनका अनुसार मोर्चाले थप अन्य दललाई पनि समेट्ने निर्णय गरेको छ ।
मंगलबारको बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, सिके राउत नेतृत्वको जनमत पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसहित जनप्रगतिशील पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीको पनि सहभागिता थियो । साथै, स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागि थिए ।
मोर्चाको बैठकले प्रभु शाह नेतृत्वको आम जनता पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि मोर्चा जोड्ने निर्णय गरेको यादवले जानकारी दिएका छन् ।
उनका अनुसार मंगलबारको बैठकमा उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि निम्ता पठाइएको थियो । तर, जसपा नेपाल उपस्थित भएन् ।
जसबारे जसपाले कार्यव्यवस्थाका कारण उपस्थित नभएको बताएको छ । जसपा नेपालका महासचिव रामकुमार शर्माका अनुसार अन्य बैठकहरुमा जसपा नेपालको उपस्थिति हुनसक्छ ।
“बैठक आकस्मिकरुपमा बोलाइयो, चाडपर्व परेको र नेताहरु उपत्यका बाहिर भएसँगै हाम्रो तर्फबाट उपस्थिति हुने स्थिति रहेन, आगामी बैठकहरुमा हामी पनि जान सक्छौं”, शर्माले भनेका छन् ।
तर, जसपा नेपाललाई नै पाखा पारेर मोर्चा गठन गरिएको कतिपयले बताएका छन् ।
स्मरण रहोस्, जसपा नेपालले पहिलो पटक पार्टी बैठक नै राखेर मोर्चा बनाउन अन्तरपार्टी समन्वय समिति बनाएको थियो । जसपा नेपालले वार्ता गर्न समिति गठन गरेसँगै अन्य दलले समिति बनाउन सुरु गरेका थिए ।
तर, जसपाले अगुवाई गर्दै गर्दा असन्तुष्ट अन्य दलहरुले बेग्लै मोर्चा बनाउने कसरत थालेका थिए । मंगलबारको बैठक नै जसपा नेपाललाई पाखा पन्छाएर गरिएको देखिन्छ ।