काठमाडौं । गत पुष १० गते नेकपा (एमाले)का अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा सचिवालय बैठकले पूर्व उपाध्यक्ष डा. भीम रावल पार्टी सदस्यसमेत नरहने गरी निष्कासनमा परेका थिए भने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई ६/६ महिना निलम्बन गरेको थियो । सोहि नियति एमालेले कोशी प्रदेश सभाका पूर्व सांसद एव उदयपुरका नेता विमल कार्कीमाथि देखाएको छ ।
व्यापारी मीनबहादुर गुरूङले एमालेको पार्टी कार्यालयलाई जग्गा दिने र भवन पनि बनाइदिने विषयमा नेताहरू रावल, पाण्डे र तिम्सेनाले सार्वजनिक रूपमा असहमति जनाएका थिए। ओलीविरूद्ध फेसबुकमा लेखेको आधारमा कारबाही भोग्ने नेताहरूको सूचिमा अहिले कार्कीको नाम पनि थपिएको छ।
नेता विमल कार्कीलाई एमालेले ६ महिनाका लागि पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको छ। पुस २७ गते बसेको कोशी प्रदेश कमिटीको बैठकले कार्कीलाई ६ महिनाका लागि निलम्बन गरेको हो ।
उनलाई मंसिर १६ मा एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले तीन दिनभित्र जवाफ दिन स्पष्टीकरण पत्र पठाएको थिए ।
‘तपाईँको नामको फेसबुक आइडीबाट पार्टी नेतृत्वविरुद्ध लगातार अभिव्यक्ति आइरहेको छ। त्यो फेसबुक आइडी तपाईँको हो कि होइन, हो भने तपाईँलाई किन कारबाही नगर्ने’ भन्दै अध्यक्ष खतिवडाले कार्कीलाई स्पष्टीकरण सोधेका थिए।
कार्कीले तीन दिनको समय सीमा घर्केपछि मात्रै स्पष्टीकरण बुझाएका थिए। उनको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै प्रदेश कमिटीले कार्कीमाथि कारबाही गरेको हो।
नेता कार्कीले फेसबुकमा लेखेका थिए, ‘आइएम विथ भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सेना’ ह्यासट्याग राख्दै कार्कीले लेखेका थिए, ‘के स्पष्टीकरण सोध्छौंरु व्यापारीसँग जग्गा दान लिएर पार्टी भवन बनाउनु गलत हो। यस्तो कार्यले जनताप्रति उत्तरदायी राजनीतिलाई स्खलित बनाउँछ। यो कार्यले देशभरिका एमालेजनको भावनामाथि कुठाराघात मात्र भएको छैन, हुर्मत पनि लिएको छ। त्यसैले यस्तो कार्यको हामीले विरोध गरेकै हो। तिमीले स्पष्टीकरण सोधे पनि नसोधे पनि हामी यस्ता प्रवृत्ति र चरित्रको विरोध गरी नै रहन्छौं।’
ओली नागरिकताको विषयमा पनि उनले ‘पहिले नागरिकतामा खड्गप्रसाद ओली’ र अहिले नागरिकतामा ‘केपी शर्मा (ओली)’ रहेकोबारे फेसबुकबाटै प्रश्न सोधेका थिए।