काठमाडौं । संसद बैठक बोलाउन आलटाल गरेको सरकारले एकपछि अर्को गरी जारी गरेको अध्यादेशको विपक्षी दलहरुले विरोध गरेका छन् । बुधबार प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)को आह्वान बसेको विपक्षी दलहरुको बैठकले सरकारको रवैयाको विरोध गरेको हो ।
विपक्षी दलहरुले संसदको हिउँदे अधिवेशन बोलाउन पनि माग गरेका छन् । “स्वेच्छाचारी ढंगले सरकार सञ्चालन गर्ने जुन रवैया देखाएको छ, यसमा हाम्राे असहमति छ, अध्यादेशमार्फत शासन गर्ने कुरा हामीलाई स्वीकार्य छैन”, बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, “सरकारलाई संसदको नियमित बैठक बोलाउन हाम्रो छ ।”
दलहरुले संसदको अधिवेशन नबोलाएको खण्डमा विशेष अधिवेशन बोलाउन प्रक्रिया थाल्ने निर्णय पनि गरेका छन् । नेता पुनका अनुसार विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा अर्को बैठकले निर्णय गर्नेछ ।
“संसदको नियमित अधिवेशन बोलाइनुपर्छ भन्नेमा हाम्रो सहमति छ, यदि नियमित अधिवेशन समयमा बोलाइएन भने हामी विशेष अधिवेशन बोलाउन दबाब दिन्छौं”, उनले भनेका छन् ।
दलहरुले राजनीति दलसम्बन्धी ऐनमा गर्न खोजिएको संशोधनको पनि विरोध गरेका छन् । थ्रेस होल्ड बढाएर साना दललाई पाखा पन्छाउने कुरा स्वीकार्य नभएको विपक्षी दलहरुको भनाई छ ।
“अहिले दलसम्बन्धी ऐनमा थ्रेस होल्डको व्यवस्था बढाउन खोजिएको छ, जुन समावेशिताका लागि सही छैन, यो लोकतन्त्र विरोधी छ, जसमा हामी सामूहिक प्रतिवाद गर्छौं”, उनले भने ।
साथै, विपक्षी दलहरुले विपक्षी दलको कार्यदल पनि बनाउने सहमति गरेका छन् । यद्यपि, जसको टुंगो आगामी बैठकबाट मात्रै हुने नेता पुनले जनाए ।
आगामी बैठकमा अन्य साना विपक्षी दललाई पनि बोलाउने निर्णय भएको उनले बताए ।
यसअघि मंगलबार मात्रै मधेश केन्द्रीत दलहरुले सरकारविरुद्ध बेग्लै मोर्चा निर्माण गरेका छन् । सरकारले अध्यादेशमार्फत एकपछि अर्को गरी कानुन संशोधन गरेको सन्दर्भमा पनि मधेशवादी दलहरु विरोधमा उत्रिएका छन् ।