महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ-Sutra News

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडाैं । अनुसन्धानकर्ताहरूले महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधबार पक्राउ गरेको सिएनएनले जनाएको छ।



‘संयुक्त अनुसन्धान मुख्यालयले राष्ट्रपति युनलाई बुधबार बिहान १०ः३३ बजे पक्राउ गरेको हो,’ अल जजिराले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। यदि उनीमाथिको आरोप प्रमाणित भएमा दक्षिण कोरियाको संविधानअनुसार युनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन सक्छ।

सिएनएनका अनुसार हप्तौँदेखि प्रहरीले उनलाई गिरफ्तार गर्न खोजिरहेको भए पनि राष्ट्रपतिको सुरक्षार्थ खटिएकाे सेनाको टोलीले उनको निवासको सुरक्षा गरिरहेको र उनलाई पक्राउ गर्न अवरोध सिर्जना गरिरहेको थियो।

अल जजिराका अनुसार पक्राउ पर्नुअघि रेकर्ड गरिएको एक भिडियो सन्देशमा युनले सैनिक शासन लागू गर्न असफल भएको भन्दै सुनुवाइका लागि जाने बताएका थिए।

‘मैले भ्रष्टाचार अनुसन्धान कार्यालयलाई जवाफ दिने निर्णय गरेँ,’ युनलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ। उनले अनुसन्धानको वैधानिकता स्वीकार गरेका थिएनन्, तर कुनै पनि दुर्भाग्यपूर्ण रक्तपात रोक्न अनुसन्धानमा सहभागी हुनेछन्।

अल जजिराका अनुसार समर्थकसहित सयौँ मानिस युनको घरबाहिर भेला भएका थिए भने सत्तारूढ कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टीका सांसद र युनका वकिलको एक समूहले पनि आवासीय परिसरभित्र गिरफ्तारी रोक्न प्रयास गरेका थिए।

सिएनएनका अनुसार प्रहरी र रक्षा मन्त्रालयसँग मिलेर अनुसन्धान गरिरहेको भ्रष्टाचार अनुसन्धान कार्यालय (सिआइओ)ले पहिलोपटक यसै महिनाको सुरुमा उनलाई पक्राउ गर्ने प्रयास गरेको थियो। तर, सैनिक र राष्ट्रपतिको सुरक्षासदस्यहरूले ८० जना प्रहरी र अनुसन्धानकर्तालाई राष्ट्रपति भवनसम्म पुग्नबाट रोकेपछि यो असफल भएको थियो।

भ्रष्टाचार अनुसन्धान कार्यालयले उनलाई बढीमा ४८ घण्टा थुनामा राख्न सक्छ। अल जजिराका अनुसार राष्ट्रपतिलाई हिरासतमा राख्न वारेन्टका लागि निवेदन दिने वा नदिने भन्ने विषयमा उनीहरूले निर्णय गर्नुपर्ने हुन्छ।

दक्षिण कोरियाको एक अदालतले हालैका हप्ताहरूमा अनुसन्धानकर्ताहरूले सहयोगका लागि अनुरोध गरेको तीनपटकसम्म पेस गर्न असफल भएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको भ्रष्टाचार अनुसन्धान कार्यालयले जनाएको छ।

यसअघि गत वर्ष डिसेम्बर १४ मा युनलाई राष्ट्रिय सभाले देशमा सैनिक शासन लागू गर्ने प्रयास गरेको भन्दै महाभियोग लगाएको थियो। दक्षिण कोरियाली राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा २०४ मतका विरुद्ध ८५ मत परेको थियो।

महाभियोग लगाएपछि युनलाई पदबाट निलम्बित गरिएको थियो। एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट