थामियो सेयर बजारको पहिरो-Sutra News

थामियो सेयर बजारको पहिरो

बुधबार, २ माघ २०८१

बुधबार, २ माघ २०८१

काठमाडौं । सेयर बजारमा चलेको लगातारको पहिरो थामिएको छ । तीन कारोबार दिनमै ५९.०९ अंकले घट्दै २५९४ को बिन्दुमा ओर्लिएको बजारमा माघको पहिलो कारोबार दिन झिनो अंकले बृद्धि भएको हो ।



बुधबार सेयर बजार १.८३ अंकले बढ्दै २५९५.९६ को बिन्दुमा उक्लिएको छ ।

झिनो अंकले बढेको बजारमा कारोबार रकम तुलनात्मकरुपमा आशातित नै रह्यो । १ करोड ७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ५ अर्ब ८२ करोड ४९ लाख रुपैयाँको भयो ।

जुन अघिल्लो दिनको तुलनामा कम भएपनि उतारचढावको हिसाबले कारोबार रकम आशितित नै हो ।

बुधबार ६ समूहको सूचक घट्यो भने ७ को बढ्यो । आज सबैभन्दा बढी फाइनान्सको सूचक ३.४८ अंकले घट्यो भने हाइड्रोको सूचक सबैभन्दा बढी १.७६ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका कम्पनीमध्ये १२४ को मूल्य बढ्दा १०८ को मूल्य घट्यो भने १० को मूल्य स्थिर रह्यो ।

लगातार तीन कारोबार दिन उच्च अंकले घटेको बजारमा थप गिरावटको सम्भावना देखिएको थियो । तर, बुधबारको कारोबारले जसलाई रोकेको छ ।

जसले माघमा बजार बढ्न सक्ने सम्भावनालाई पनि दर्शाएको छ ।

अहिले एकातिर बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर थप घटेको छ भने अर्कोतिर पौष मसान्तले लगानीकर्तालाई बनाएको दबाब पनि हटेको छ । जसले लगानीकर्ता अब खुलेर कारोबारमा लाग्न सक्ने अवस्था बनाइदिएको छ ।

बैंक तथा वित्तीय संस्थाको रिपोर्टलाई हेर्दा पनि लगानीकर्ताले सहजै सेयर कर्जा पाउन थालेको देखिन्छ । जसले बैंक तथा वित्तीय संस्था सेयर बजारप्रति थप लगानीमैत्री बन्न थालेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट