काठमाडौं । सरकारको प्रमुख प्रतिपक्षी दलको आज बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विषयमा छलफल भएको छ । सिंहदरबारमा भएको ६ प्रतिपक्षी दलको बैठकमा सहभागी सबै दलका नेताहरूले रवि माथि राज्यले राजनीतिक प्रतिशोध साधेर अमानवीय व्यवहार गरेको ठहर गरेको हो ।
बैठकको प्रारम्भमै विपक्षी मोर्चाको बैठकमा रविको विषयमा चर्चा भएको थियो । बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले रविमाथि अमानवीय ढङ्गबाट राजनीतिक प्रतिशोधपूर्ण व्यवहार भएको बताएका थिए । ‘जसरी पनि रविलाई फसाउन पर्छ भन्ने उद्देश्यले राज्य लागेको छ,’ बैठकमा सहभागी एक नेताले भने,‘ सहकारी ठगीमा संलग्न र जिम्मेवार रहेका मानिसलाई बचाउने र रविलाई दुख दिने नियत राखिएको छ ।’
बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधब कुमार नेपालले पनि रविमाथि अत्याचार भएको धारणा राखेका थिए । ‘सहकारी ठगीमा संलग्न आफ्नालाई जोगाएर राज्य रविमाथि प्रतिशोधपूर्ण व्यवहारमा उत्रिएको छ,’ माधव नेपालको भनाई उदृत गर्दै एक नेताले भने । बैठकमा सहभागी सबै दलका शीर्ष नेताहरूले रवि माथिको राजनीतिक प्रतिशोधको विरोध गरेका थिए ।