काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका हुन् । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । यो संगै लामिछाने हिरासतमुक्त भएका छन् ।
उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइने एक प्रहरी अधिकृतले बताए ।